चन्दा नदिएपछी विप्लव कार्यकर्ताले मेयरलाई हाने गोली
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले चन्दा नदिएको रिसमा घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेकपाका स्थानीय नेता तथा कार्यकर्ता मेयर चौधरीसँग पटक–पटक चन्दा माग्न गएका थिए । चन्दा नदिएकै रिसइबीमा उनीमाथि आक्रमण गरिएको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन ।
‘केही नेताले चन्दा माग्ने, आफ्ना मान्छेलाई नगरपालिकाका विभिन्न ठाउँमा नियुक्तिका लागि दबाव दिने गरेको अनुसन्धाननले देखाएको छ,’ एसपी घिमिरेले भने, ‘बोक्सीको आरोपमा कुटपिट घटनालाई मिलापत्र गराएको विषयलाई निहुँ मात्रै बनाएको पाइयो ।’
घोडाघोडी नगरपालिका ५ सुक्खडस्थित आफ्नै घरमा रहेका बेला २८ फागुनको राति करिब ८ बजेतिर मेयर चौधरीमाथि गोली र खुकुरी प्रहार गरिएको थियो । यसमा नेकपाका जिल्ला कमान्डर सहितका नेता संलग्न रहेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
एसपी घिमिरेले घटनामा कमान्डर लगायतको संलग्नता देखिएको बताएका छन । तर उनले भने, ‘हामीलाई कुनै राजनीतिक पार्टीसँग सरोकार छैन । यसलाई प्रहरीले आपराधिक गिरोहले घटना गराएको रूपमा हेरेको छ ।’
मेयर चौधरीमाथि आक्रमणमा संलग्न १३ जनाको नाममा किटानी जाहेरी परेको छ । उनका आफन्तले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएका हुन् । तीमध्ये चारजना पक्राउ परेका छन् ।
नेकपाको युवा संगठनका जिल्ला संयोजक कमल क्षेत्री, एरिया सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदयराज बोगटीलाई घटना भएकै दिन पक्राउ गरिएको थियो भने पुर्ण खनाललाई घटना भएको भोलिपल्ट धनगढीबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
यद्यपि विप्लव समूहका कैलाली इन्चार्ज महान र सेक्रेटरी अमरले संयुक्त विज्ञप्ति निकालेर चौधरीमाथि भएको आक्रमणमा नेकपाको संलग्नता नभएको दावी गरेका छन् । तर उनीहरुले पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै शनिबार कैलाली जिल्ला बन्द आह्वान गर्दा जिल्लाबासी मर्कामा परेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्