ब्वाईफ्रेन्डसँग हिँडेको भन्दै बाबुले गरे छोरीको हत्या
आफ्नी १९ वर्षीया छोरीको हत्या गरेको आरोपमा जनकपुरका दिलीपकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहाकुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आशङ्कामा धनुषा प्रहरीले पक्राउ गरेको हो ।
सहिदनगर–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई फागुन २६ गते पक्राउ गरेर अनुसन्धानको प्रक्रिया अगाडी बढाएको धनुषा प्रहरीले जनाएको छ । स्नेहाकुमारी काठमाडौँको नासा कलेजमा अध्ययनरत थिइन् । प्रहरीका अनुसार फागुन ८ गते छोरीलाई सम्झाउने क्रममा उनीहरूबिच झगडा भएको थियो । त्यही साँझ नै आमाबुवाको चरम यातनाले स्नेहाको मृत्यु भएको आशंका गरिको छ ।
पक्राउ परेपछि स्नेहाका बाबु दिलीपले छोरी बिरामी रहेको र उपचारका लागि भारत लैजाने क्रममा बाटोमै मृत्यु भएपछि उतै दाहसंस्कार गरेको बताएका छन् । प्रहरीले भने स्नेहाको हत्या गरिएको दाबी गर्दै अनुसन्धानलाई अगाडि बढाएको छ ।
उनी अध्ययनरत कलेजले स्नेहाको विषयमा गुनासो गरेपछि दिलीप आफै काठमाडौँ पुगेर फागुन २ गते छोरीलाई जनकपुर लगेका थिए । त्यसपछि स्नेहा र बाबु दिलीपबिच दिनहुँ झगडा भईरहनेगरेको छिमेकीहरुले बताएका छन ।
छिमेकीहरुका अनुसार फागुन ८ गते साँझ पनि ठुलो स्वरमा झगडा भएको सुनिएको थियो । तर अर्को दिनदेखि त्यो घर सुनसान भएपछि स्थानीय बासिन्दा पनि सशंकित भएका थिए । फागुन ९ गते साँझ बाबु दिलीप भाडाको गाडी लिएर डेरामा पुगेका थिए ।
अचेतलाई झैँ काँधमा स्नेहालाई बोकेर गाडीमा हाले र भारततर्फ लागे । छिमेकीहरूले चासो राख्दा ‘स्नेहा बिरामी’ भएकाले उपचारका लागि भारतको दरभंगा लैजान लागेको बताएका थिए ।
छोरीलाई उपचारको बहानामा भारत लगेका दिलीप उतैबाट फरार भए । आमा सरितादेवी पनि जनकपुरको डेरामा ताल्चा लगाएर फरार भइन् । छोरीको शव जलाएको चार दिनपछि दिलीपले भारतबाटै आफ्नो घर सहिदनगर–७ धबौलीमा फोन गरेर छोरीको मृत्यु भएको खबर गरेका थिए ।
छोरीको मृत्यु भए पनि उनको घरमा जुठो बार्ने बाहेक अन्य संस्कार गरिएन । स्नेहाको हत्या अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार नासा कलेजले स्नेहाको आचरण सम्बन्धी कम्प्लेन गरेको र बिबाह छिनोफानो गरेको केटा पक्षले स्नेहाको आचरणलाई कारण देखाउँदै बिबाह नगर्ने बताएपछी बाबु दिलिप स्नेहासँग रिसाएका थिए ।
प्रहरीका अनुसार स्नेहासँग बिबाह गर्ने टुंगो लागेको केटा पक्षले काठमाडौँमा अर्कै केटासित घुमिरहेको देखेपछि बिबाह अस्वीकार गरेको थियो । यही दुई कारणले स्नेहासित उनका आमा–बुवा रिसाएका थिए । यही बिषयमा बिबाद भई कुटपिट गर्दा स्नेहाको मृत्यु भएको प्रहरीको आशंका छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्