सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रिषले घरमा आगो लगाउँदा छोराछोरीको मृत्यु

रामेछापमा श्रीमानले सौता ल्याएर हेलाँ गरेपछी छोराछोरीसहित आत्मदाह गर्न कटेरोमा आगो लगाउँदा एक ‘आमा’ले आफ्नै छोराछोरी जलाएकी छिन । सौता–सौता बीचको झगडा बढ्दै गएपछि खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले आइतबार राती कटेरोमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा बिपिन र २ वर्षकी छोरी रमिताको जलेर ज्यान गएको हो ।

‘आमा’ मायाको यस्तो प्रतीक हुन् जो सन्तान सुखका लागि जस्तो सुकै त्याग गर्न पनि तयार हुन्छिन् । तर रामेछापकी ताराले भने निकै क्रुर निर्णय गरिन । आफैंले संसार देखाएका सन्तानलाई आफुसँगै जलाउने निर्णय गरिन । आगोले उनका दुई सन्तान त जले तर आफु भने बाँच्न सफल भईन । सुन्दा अपत्यारीलो लाग्ने यो घटना रामेछापमा आइतबार भएको हो ।

दीलबहादुर खत्रीकी जेठी श्रीमती २५ वर्षीया तारा केसीले आइतबार आफू बस्दै आएको कटेरोमा आगो लगाएर २ छोराछोरीको ज्यान लिएकी हुन् । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक राजकुमारले घटनाको पुष्टि गर्दै आमाले लगाएको आगोमा परी ४ वर्षीय छोरा र २ वर्षकी छोरीको जलेर मृत्यु भएको जानकारी दिएका छन ।

आगो लगाउने तारा केसी पनि आगलागीमा परी सामान्य घाइते भएकी छन् । प्रहरीले घटना लगत्तै तारा केसी र उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । पतिले कान्छी ल्याएपछि छुट्टै बसोबास गर्दै आएकी ताराले प्रहरीसँगको बयानमा पतिले अर्की पत्नी ल्याई आफूलाई हेला गरेको र छोराछारीसहित प्राण त्याग गर्न कटेरोमा आगो लगाएको वयान दिएकी छन् ।

आगोलागीमा परी मृत्यु भएका २ बच्चाको शव सदरमुकाम मन्थली ल्याइएको प्रहरीले जनाएको छ । आगो लगाउने तारा पति दिल बहादुर खत्री र उनकी कान्छी पत्नी बसेको स्थानभन्दा १ सय मिटर पर बाँसको टहरो बनाएर एक छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्