साईकल मन्त्री लालबावुको कर्मचारीलाई अर्को झड्का
यसअघि सामान्य प्रशासन मन्त्री हुँदा डिभि र पिआरधारी कर्मचारीको उछिट्टो खनेका लालबाबु पण्डितले यसपाली पनि कर्मचारीलाई जनमुखी र सेवामुखी बनाउन कडा कदम चाल्ने सुरमा देखिएका छन । यसपाली पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएका लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई ठाउँको ठाउँ बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भइसकेको समेत स्पष्ट पारेका छन । कार्य क्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन्दै मन्त्री पण्डितले कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधा समेत खोस्ने चेतावनी दिएका छन् ।
मन्त्री पण्डितले जनताको सेवामा समर्पित भएर कर्मचारीहरुले काम गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्दै मन्दिरमा जाने पुजारीले झैं पवित्र भावनाका साथ जनताको सेवा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्नुपर्ने मन्त्री पण्डितको भनाइ थियो ।
मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निशेष गर्ने घोषणा पनि गरेका छन् । उनले कर्मचारी संगठनहरुको दवावमा कुनै पनि गतिविधि आफूले नगर्ने दृढता व्यक्त गर्दै नीति निर्माणका बेला कर्मचारी संगठनहरुबाट आवश्यक सुझाव भने लिईने बताएका छन ।
कोही कसैको दवावमा सरुवा, बढुवा गर्ने काम हुनै नसक्ने स्पष्ट पार्दै मन्त्री पण्डितले निजामति कर्मचारीलाई लामो विदामा बस्ने छुट समेत नभएको बताए । हालसम्म स्वच्छ छवि भएका मन्त्रीका रुपमा परिचय बनाएका लालबावु पण्डितको यो कदमको आम नागरिकले प्रशंसा गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्