प्रहरीको भेषमा ठगी गर्ने सुन्दरी पुलिसको फन्दामा
आफुलाई सशस्त्र प्रहरीको हेडक्वार्टरमा काम गर्ने असई बताउँदै ठगी गर्ने मञ्जु बुढाथोकी उर्फ कोपिलालाई बालाजु प्रहरीले पक्राउ गरेको छ ।सिन्धुपाल्चोक बलेफी नगरपालिका ७ लामोसाँघु घर भएकी कोपिला पक्राउको कारण अनौठो छ । वास्तवमा उनको परिचय पनि झूटो रहेछ । प्रहरीले उनको कोठामा सशस्त्र प्रहरीको पोसाकमा सजिएको फ्लेक्स प्रिन्ट पनि देखेको थियो ।
आफू सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक रहेको बताउँदै सशस्त्रमा जागिर लगाइदिने नाममा ठगी गरेको आरोपमा उनी पक्राउ परेकी थिइन् । कोपिलाले आफू भर्खरै रसुवाबाट सरुवा भएर सशस्त्र प्रहरीको प्रधान कार्यालय आएको भन्दै ४ जनाबाट ६ लाख ३० हजार रुपैयाँ ठगेकी थिइन् । सशस्त्र प्रहरीमा जागिर खान प्रतिस्पर्धामा उत्रिएर फेल भएकाहरूसित नाम निकालिदिने भन्दै उनी रकम असुल्थिन् र एकाएक बेपत्ता हुन्थिन् ।
महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी विश्वराज खडकाका अनुसार कोपिलाले यसअघि पनि यस्तै प्रकृतीको ठगी घटनामा पक्राउ परेर सजाय भोगेकी थिइन् । प्रहरीका अनुसार २०७३ फागुन ११ मा भीमप्रसाद राईसहितका पीडितले ५ लाख ५ हजार रुपैयाँ ठगेको भन्दै उजुरी गरेपछि उनी पक्राउ परेकी थिइन् । यही मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७३ चैत १७ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना बुझाएपछि उनी थुनामुक्त भएकी थिइन् ।
कोही सक्कली सशस्त्र प्रहरीकै मिलेमतोमा उनले ठगी गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बालाजु वृत्तले कोपिलालाई पक्राउ गरेकै दिन महानगरीय अपराध महाशाखाले मैतीदेवी बस्ने कुमार मण्डललाई पक्राउ र्गयो । कोपिलाको जस्तै झूटको सहारा लिएर ठगी गर्न पल्केका कुमारको धन्दा उस्तै रोचक थियो । कोपिलाले सर्वसाधारणलाई ठगेकी थिइन, तर कुमारले त बहालवाला प्रहरीलाई नै ठग्न भ्याए ।
प्रहरी प्रधान कार्यालयमा काम गर्ने डीएसपीसँग कुरा मिलाएर ‘सेटिङ’ मा संयुक्त राष्ट्रसंघको मिसन टोलीमा पठाइदिने आश्वासन दिँदै उनले बहालवाला दुई प्रहरीसँग पटक–पटक गरेर ४ लाख रुपैयाँ ठगेका थिए । प्रहरीका अनुसार कुमारले प्रकाशकुमार नामका व्यक्तिसँग मिलेर ठगीे धन्दा चलाएका थिए ।
आफूलाई डीएसपी नारायणकुमार श्रेष्ठ बताउने प्रकाशको पनि प्रहरीले खोजी गरिरहेको छ । महाशाखाले कुमारलाई ठगीमा कारबाही चलाउने भएको छ । नक्कली प्रहरी बनेर ठग्ने र सक्कली प्रहरीलाई नै ठगी गर्ने घटना यो पहिलो भने होइन ।
गत ५ वैशाखमा कञ्चनपुरका केशव सिंहलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ गर्यो । उनले आफूलाई परिसरको सिभिल पुलिस भएको नक्कली परिचयपत्र देखाउँदै ठगी गरेका थिए । रकम र मोबाइल नदिए विभिन्न मुद्दा चलाएर फसाइदिने भन्दै उनले डोटी, गुगडा–३ का शुभम बोगटीलाई धम्काउँदै आएका थिए ।
पैसा लिन कोटेश्वर पुगेका बेला प्रहरीले केशवलाई पक्राउ गरेको थियो । फागुन तेस्रो साता पनि महानगरीय अपराध महाशाखाले एआईजीको ड्राइभर बताउने र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने आश्वासन दिँदै ठगी धन्दा चलाएका गुल्मीका मिलन पाण्डेलाई पक्राउ गरेको थियो ।
अपराध महाशाखाको प्रहरी बताउँदै ठगीधन्दा चलाउने सिन्धुपाल्चोकका दीपेन्द्र केसीलाई पनि फागुनकै तेस्रो साता अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । प्रहरीको बर्दीसहितको फोटो देखाउँदै ठगी गर्ने दीपेन्द्रले आफू प्रहरीको केरकार शाखामा काम गर्ने र सजिलै ग्यास उपलब्ध गराइदिने भन्दै सल्लाघारीकी एक महिलासँग ५० हजार ठगेर बेपत्ता भएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्