सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एआईजीको श्रीमती भन्दै करोड ठग्ने युवती खोरमा

आफुलाई राष्ट्रिय अनुसन्धान विभागका एक एआईजीको श्रीमती र नेपाली सेनाका एकजना जर्नेलको ‘पिए हुँ’ समेत भन्दै विभिन्न प्रलोभनमा पारेर १ करोड १५ लाख बढी ठग्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमजुङ स्थायी घर भई हाल काठमाडौं तारकेश्वर बस्ने मोहन दुरा, लमजुङ स्थायी घर भएर मनमैजु बस्ने पसुपति अधिकारी, तनहुँ स्थायी घर भएकी बालाजु बस्ने यमुना खड्का र कास्की स्थायी घर भएर बालाजु बस्ने रमेश कुमाल रहेका छन् ।

पक्राउ परेकाहरुले विभिन्न ब्यक्तिहरुलाई नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागमा सिपाही तथा असई बनाईदिने र नेपाली सेनाको सिपाही तथा सेकेन्ड लेफ्टिनेन्ट पदमा समेत भर्ना गराई दिने भन्दै ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताएका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका एक एआईजीको श्रीमती हुँ भन्दै ठगी गर्ने यमुना खड्का सहितले बहालवाला नेपाली सेनाका कर्मचारीहरुलाई शान्ति सेना पठाईदिने तथा पोल्याण्ड, अमेरिका र क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्दै आएको बताईएको छ ।

निजहरुले राष्ट्रिय अनुसन्धान विभागमा सिपाही पदको लागी भन्दै दुई लाख, सेनाको सेकेन्ड लेफ्टिनेन्टको लागी ७ लाख तथा शान्ति सेनामा पठाउने भनी प्रतिब्यक्ति २ लाख र पोल्याण्ड लगायतका युरोपियन मुलुक पठाउन भन्दै १ लाख ५० हजारको दरले १ करोड १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त मध्येका मोहन दुराले आफुलाई नेपाली सेनाको जमदार तथा बहालवाला जर्नेलको पिए हुँ भनी ढाँटेर रकम ठग्ने गरेका थिए । ठगी गर्ने गिरोहका चार जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको एसएसपी विश्वराज पोखरेलले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्