सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हरिण मारेपछी सलमानलाई ५ बर्ष जेल सजाय

कालो हरिणको सिकार गरेको अभियोगमा दोषि ठहर गर्दै भारतस्थित जोधपुर अदालतले अभिनेता सलमान खानलाई ५ बर्षको जेल सजाय सुनाएको छ । जोधपुरको चीफ ज्युडिसियल मजिस्ट्रेटको अदालतले २० वर्ष पुरानो कालो हरिणको शिकार सम्बन्धि मुद्दामा दोषि ठहर गर्दै अभिनेता खानलाई जेल सजाय सुनाएको हो ।

न्यायाधिशले सलमान खानलाई ५ वर्षको जेल सजाय र १० हजार जरिवानाको सजाय सुनाएका छन् । भारतीय कानुन अनुसार ३ बर्ष भन्दा लामो जेल सजाय सुनाईएको मुद्दाका दोषिलाई धरौटी तिरेर छुट्ने कानुनि ब्यवस्था नभएकाले अभिनेता खान पुरा समय जेलमै बस्नुपर्नेछ । यद्यपी उनले सर्बोच्च अदालतमा अपिल भने गर्न पाउने छ ।

यो मुद्दामा अन्य आरोपीहरु सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र निलमले भने शंकाको सुविधाका आधारमा सफाई पाएका थिए । पेशीका लागि सलमानसँगै उनीहरु सबै बुधबार त्यहाँ पुगेका थिए । फैसला लगत्तै खानलाई हिरासतमा लगिएको थियो र उनलाई अहिले सेन्ट्रल जेल लगिएको छ ।

अदालतमा लन्चका क्रममा सलमानका दुई बहिनीहरु अर्पिता र अलविरा बाहिर ग्यालरीमा फोनमा कुरा गरिरहेका थिए । सलमान भने कोर्टरुम भित्र कुर्सीमा एक्लै बसेका थिए । लन्चपछि न्यायाधीश ड्यासमा आए । उनी आएपछि सलमान पर्खालमा अडेस लागेर उभिएका थिए ।

बहिनीहरु पनि आएर उनीसँगै बसेका थिए । न्यायाधीसले सलमानलाई ५ वर्षको कैद सजाय सुनाए लगत्तै बहिनीहरु रुन थाले । त्यहीँ रहेका सलमानका बडिगार्ड शेरा पनि भावुक बनेका थिए ।

यो घटना सन् १९९८ को सेप्टेम्बर–अक्टोबरको हो । त्यतिबेला माथी उल्लेखित सबै कलाकारहरु फिल्म ‘हम साथ साथ है’ को सुटिङका सिलसिलामा जोधपुरमा थिए ।

सलमानमाथि जोधपुरको घोडा फार्म हाउस र भवाद गाउँमा २७ र २८ सेप्टेम्बर १९९८ को रातमा हरिणको शिकार गरेको आरोप लाग्यो । यसैगरी कांकाणी गाउँमा १ अक्टोबरमा २ काला हरिणको शिकार गरेको आरोप लाग्यो ।

कांकाणी गाउँको शिकार मामलामा प्रत्यक्षदर्शीले अदालतमा बताएका थिए कि गोलीको आवाज सुनेर उनी त्यहाँ पुगेका थिए । शिकार सलमानले गरेका थिए । जीपमा उनीसँग सैफ अली खान, नीलम, सोनाली बेन्द्रे र तब्बु पनि थिए ।

उनीहरु सबै मिलेर सलमानलाई शिकारका लागि उक्साएको आरोप छ । तर, प्रत्यक्षदर्शीले उनीहरुलाई पहिचान गर्न नमानेपछि उनीहरुले उन्मुक्ति पाएका छन् । सलमानविरुद्ध कालो हरिण शिकारको मामलामा तीनवटा र हातहतियार ऐनमा एउटा मुद्दा थियो ।

त्यतिबेला सलमानको कोठाबाट उनको निजी पेस्तोल र राइफल बरामद गरिएको थियो, जसको लाइसेन्सको म्याद गुज्रिसकेको थियो । हरिण शिकारका ३ मामलामा सलमान प्रहरी र न्यायिक हिरासतमा पहिले पनि १८ दिन जेल बसिसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्