सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बालिका बलात्कारको मुद्दा प्रहरी चौकीमै मिलापत्र

वीरगन्ज महानगरपालिका–३० लालपर्सामा १२ वर्षीया बालिका बलात्कृत भएको घटना मिलापत्र गराएर सामसुम पार्ने प्रयास गरिएको छ । चैत १२ गते भएको सो घटनालाई प्रहरी चौकी परिसरमै स्थानीय जनप्रतिनिधि र प्रहरीको उपस्थितिमा पञ्चायती (छलफल) गरी मिलापत्र गराएर सामसुम पार्ने प्रयास गरिएको हो ।

लालपर्साका २१ वर्षीय मन्दीप यादवले बालिकालाई चैत १२ गते राति ललाइफकाइ गरी गाउँ नजिकै मकैबारीमा लगेर बलात्कार गरिरहेको अवस्थामा बालिकाका बुबाले फेला पारेका थिए । बालिकाका बुबा मकैबारीमा पुगेलगत्तै मन्दीप मकैबारीमै आफ्नो मोटरसाइकलसमेत छाडी भागेका थिए ।

बालिका बलात्कारको हल्ला गाउँमा फैलिएपछि पीडित बालिकाका अभिभावक र आरोपित युवक मन्दीपका अभिभावकबीच सोही राति झगडा भएको थियो । पीडित बालिकाका अभिभावकले चैत १३ गते बिहान प्रहरी चौकीमा घटनाबारे उजुरी दिएका थिए ।

उजुरीमा मन्दीपले बालिकालाई अपहरण गरी बलात्कार गरेको व्यहोरा उल्लेख थियो । पीडित पक्षको उजुरीका आधारमा चैत १३ गते नै प्रहरी चौकी परिसरमा घटना मिलापत्र गराउन पञ्चायती (छलफल) भएको थियो ।

छलफलमा आरोपित युवक मन्दीप, उनका अभिभावक, प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चन्देश्वर सिंह, वडा नम्बर ३० का वडाध्यक्ष अमानत मियाँ अन्सारी, पीडित बालिकाका अभिभावक र गाउँका अगुवा सहभागी थिए ।

उक्त छलफलमा आरोपित मन्दीप पक्षका व्यक्तिको बढी संख्या भएपछि र वडाध्यक्ष अन्सारीले पनि गाउँमै छलफल गरेर मिलापत्र गराउने भनी पीडितलाई दबाब दिएपछि पीडित बालिकाका अभिभावक र आफन्त घर फर्केका थिए ।

वडाध्यक्ष र पीडक पक्षको दबाब र धम्कीका कारण पीडितका अभिभावक घटनाबारे बोल्न चाहेका छैनन् । वडाध्यक्ष अन्सारीले भने प्रहरी चौकीमा भएको छलफलमा आफू सहभागी रहेको र छलफलमा दुवै पक्ष आपसमा मिल्छौं भनेर सहमति गरी घर फर्किएको बताएका छन ।

प्रहरी चौकी परवानीपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक सिंहले चैत १३ गतेको छलफलमा वडाध्यक्ष अन्सारीसँग आफू पनि सहभागी भएको स्विकारेका छन । पीडित बालिकाका अभिभावकले आफ्नी छोरीलाई बलात्कार गरिएको भन्ने उजुरी दिए पनि छलफलमा मिलापत्रको कुनै लिखित कागजात नगराइएको उनले बताएका छन ।

प्रहरी नायव निरिक्षक सिंहले भने, ‘छलफलमा मैले यस्तो जघन्य अपराधको घटना मिलापत्र हुन सक्दैन भनेँ तर पीडक र पीडित पक्षका अभिभावकले केटाकेटीको कुरा हो छोडिदिनुस, पछि केटीको बिहे पनि गर्नु छ, इज्जत जान्छ भने ।’ केटाकेटी दुवैलाई तिनका अभिभावकले आ–आफ्नो जिम्मामा लिएर गएको उनले बताएका छन । उनले अगाडी भने–‘तर मैले मिलापत्रका लागि कुनै दबाब दिएको छैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्