सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सांसदकी छोरी श्रृंखला खतिवडा ‘मिस नेपाल’

यस वर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौँडाकी श्रृङ्खला खतिवडा भएकी छिन् । बुधबार राति सम्पन्न मिस नेपालको ग्राण्ड फिनालेमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रृंखला खतिवडाले मिस नेपालको ताज पहिरन सफल भएकी हुन् ।

मिस नेपाल २०१८ को प्रतिस्पर्धामा शृंखला खतिवडा नम्बरको हिसाबले अन्तिम प्रतिस्पर्धी थिइन् । २५ जना प्रतिस्पर्धीमध्ये शृंखलाको रोल सबैभन्दा अन्तिममा आउँथ्यो । तर बुधबार राति अन्नपूर्ण होटलमा आयोजना भएको मिस नेपाल प्रतियोगितामा शृंखला बाँकी २४ जनालाई पछाडि पार्दै पहिलो भइन् र मिस नेपालको ताज आफ्नो शिरमा पहिरिन सफल भइन् ।

२२ बर्षीया शृंखलाले मिस नेपालको मुख्य उपाधिसँगै उत्कृष्ट कपाल र उत्कृष्ट फेसन विधामा पनि पुरस्कार हात पारेकी छिन् । इन्जिनियरिङकी विद्यार्थी श्रृंखला बौद्धिक रुपमा तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् ।

शृंखला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् । उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ यो प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् ।

शृंखलाले कुनै भूमिका नबाँधी सिधै जवाफ दिएकी थिइन । बुँदागत रूपमा उनले अंग्रेजीमा भनेकी थिइन, ‘ब्युरोक्रेसी व्यवस्थित बनाउनु पर्छ, युवा सशक्तीकरणमा जोड दिनुपर्छ र हामी गर्न सक्छौं भनेर सबैले आफूले आफैलाई विश्वास गर्नुपर्छ ।’ उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई, सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथमा, उनले १ लाख नगद पनि प्राप्त गरेकी छिन ।

प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितेकी छिन । उनलाई ‘मिस नेपाल अर्थ–२०१७’की विजेता रोजिना श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले पनि नगद १ लाख पुरस्कार पनि प्राप्त गरेकी छिन ।

यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनलाई सन् २०१७ कि ‘मिस नेपाल इन्टरनेशनल’ नीती शाहले क्राउन लगाइदिएकी थिइन् । उनले पनि एक लाख नगद पुरस्कार जितेकी छिन । साथै, उनले ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्नेछिन ।

द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्