सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नापी कार्यालय प्रमुख घुसहित अख्तियारको फन्दामा

उदयपुरका नापी कार्यालय प्रमुख श्यामबाबु प्रसाद शाह ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो ।

सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सा सुधार र संशोधन गरिदिने भन्दै साहले २ लाख रुपैयाँ घुस मागेको मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न भएपछि लिने दिने सहमतिमा पेश्की रकम बुझ्दै गर्दा पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका प्रमुख प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन ।

सेवाग्राहीको ३ कठ्ठा जग्गाको नक्सा सुधार र संशोधन गर्ने भन्दै साहले सुरुमा ५ लाख रुपैयाँ घुस मागेका थिए । ठूलो रकम माग भएपछि सेवाग्राही नापी विभागमा पुगेका थिए । विभागले सुधार गरिदिन परिपत्र गरेपछि पनि साहले काममा ढिलासुस्ती र अल्झाउने जस्ता कार्य गर्दै पैसा नलिई नगर्ने संकेत देखाएपछि लिने र दिनेबीच २ लाख रुपैयाँमा दिने सहमति भएको थियो ।

पक्राउ परेका साहले आफूले घुस नलिएको दाबी गरेका छन् । उनले भने, ‘म पुजा गर्दै थिएँ, सेवाग्राही सरासर आएर सिरानीमुनी छाडेर गए ।’ तर सेवाग्राहीले भने क्वाटरमा बोलाई पैसा हातले नै बुझेर राखेको दावी गरेका छन् । पैसा हातले बुझे नबुझेको बारेमा अख्तियारले पानीमा केमिकल मिसाएर टेष्ट गर्दा हातले नै बुझेको फेला पारेको अख्तियारले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्