देशवासीको सम्बोधनमा राराबाट के भने प्रधानमन्त्रीले ?
प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट देशवासीका नाममा सम्बोधन गरेका छन् । नयाँ वर्षको अवसरमा मुगुको रारा ताल किनारबाट शनिबार बिहान देशवासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनबाट प्राप्त बहुमत दम्भ र वर्चस्वका लागि होइन । त्यसरी नै प्रतिपक्षको स्थान पनि अन्त्यहीन विरोध, असहयोग र कटुताका लागि होइन ।’
उनले अघि भने, ‘म विनम्रताका साथ मुलकुमा क्रियाशील सबै राजनीतिक दलहरुलाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका वृहत्तर विषयहरुमा समझदारीका साथ अगाडि बढ्न आह्वान गर्दछु ।’ आगामी पाँच वर्षभित्र देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने दावीसमेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन, ‘म तपाईंहरुलाई आत्मविश्वासका साथ भन्न चाहान्छु– पाँच वर्षपछि नयाँ निर्वाचनमा तपाईंहरुका अगाडि आइपुग्दा हाम्रा काम र उपलब्धिहरुले तपाईंहरुलाई अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । पाँच वर्षभित्रैमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, सकारात्मक दिशामा ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कर्णाली समृद्ध भएमात्रै सिंगो नेपालीको समृद्धिले सार्थकता पाउने बताएका छन । प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको पनि उल्लेख गरेका छन ।
‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’
प्रधानमन्त्रीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलव्धिको साल रहेको उल्लेख गर्दै २०७४ सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताए । उनले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि बताए ।
अहिले पनि के नेपाल बन्छ ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्न आफूले पटक–पटक सुन्दै आएको बताउँदै भने, ‘नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारीत आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’
प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरु कमजोर भएका र विभाजित गर्ने शक्तिहरु किनारा लागेको उल्लेख गरेका छन ।
राष्ट्रहरु बीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने प्रधानमन्त्रीको भनाइ छ । उनले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकीहरु, सबै मित्र राष्ट्रहरु र अन्र्तराष्ट्रिय समुदायसँग घनिष्ट सम्बन्ध विकास गरिने बताए ।
प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने बताएका छन ।
यस्तो छ सम्बोधनको पुर्णपाठः
[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F04%2FPMs-New-Year-adress-from-Rara-April-13-018.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]
फेसबुकबाट कमेन्ट गर्नुहोस्