सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माओवादीलाई सिध्याउने मनस्थितिमा केपी ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको निश्कर्ष माओवादी नेताहरुले निकालेका छन् । पार्टी एकता नै गर्न चाहेको हो भने ओलीले बराबरीका आधारमा अघि बढ्नैपर्ने माओवादी नेताहरुको निश्कर्ष छ ।

आइतबार गर्ने भनिएको प्रधानमन्त्री ओलीसँगको छलफल स्थगन गरेर माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा ‘आराम गर्न’ गएका थिए । प्रचण्ड सुकुटेतिर लाग्नुअघि आइतबार नै वाइसीएलका नेताहरु अनि एमाले नेता माधव नेपालसँग प्रचण्डको बेग्लाबेग्लै छलफल भएको थियो ।

आइतबार दिउँसो प्रचण्ड र ओलीवीच टेलिफोन सम्वाद भएको थियो, जसमा प्रचण्डले सुकुटेतिर जान लागेको बताउँदै सोमबार बिहान छलफल गरौं भनेका थिए । यही सहमति अनुसार सोमबार सुकुटेबाट फर्केर प्रचण्ड सिधै प्रधानमन्त्री निवास बालुवाटार गएका छन ।

पार्टी एकताबारे यस्तो छ माओवादीको निश्कर्ष
पछिल्लो समय एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सम्मानजनक ढंगबाट पार्टी एकता गर्ने नभएर माओवादीलाई सिध्याउने र आफूसँग विलय गराउने कूटनीति अपनाएको माओवादी नेताहरुको निश्कर्ष छ ।

‘ओली पार्टी एकताको अर्थमा नभई पेलान गर्ने र माओवादीलाई सिध्याइदिने मनस्थितिमा देखिएका छन’ एक माओवादी नेताले भने–‘सरकार सञ्चालनको कार्यशैली हेर्दा उनी खतरनाक अधिनायकवादतिर उन्मूख भइरहेका छन, त्यसैले बेलैमा सतर्क हुनुपर्छ भन्ने हाम्रो निश्कर्ष छ ।’

प्रचण्डसँग निकट केही माओवादी नेताहरुसँग अनौपचारिक कुराकानी गर्दा उनीहरुले यस्तो संशययुक्त विश्लेषण सुनाएका छनः

–केपी ओली दुई ओटा वामपन्थी धारलाई आपसमा मिलाउने र सम्मानजनक एकता गर्ने पक्षमा छैनन् । उनी माओवादीलाई फसाएर आत्मसमर्पण गराउन अनि सिध्याउन चाहन्छन् ।

–केपी ओलीले प्रचण्डलाई पनि अध्यक्ष बनाउने आश्वासन त दिएका छन् । तर, उता माधव नेपाललाई पनि महाधिवेशनपछि तपाईलाई पार्टी अध्यक्ष बनाउँछु भनेर आफ्नो नजिक ल्याएका छन् । एमाले नेता माधव नेपाल पिँध नभएका लोटा हुन् भन्ने पुनः एकपटक पुष्टि भएको छ ।

–केपी ओलीले सचिवहरुको सरुवा गर्दा माओवादी निकट मन्त्रीहरुसँग कुनै सरसल्लाह गरेनन् । यतिसम्म कि माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल नगरी उनी एकलौटी ढंगबाट सरकार सञ्चालन गरिरहेका छन् । एउटै पार्टीभित्र त नेताहरुसँग छलफल र सल्लाहका आधारमा सरकार चलाउनुपर्छ भने अहिले बेग्लै रहेको माओवादीलाई बाइपास गर्ने ओलीको चाहना देखिएको छ ।

–सम्मानजनक पार्टी एकता गर्ने लाइनबाट केपी ओलीमा विचलनको सुरुवात उनको बैंकक भ्रमणपछि भएको हो । त्यहाँ उनले भारतीय ‘रअ’का उच्च अधिकारीलाई भेटे र आफूले लिँदै आएको राष्ट्रवादको अडानलाई बिर्सेर मोदी सरकारसँग लाइन मिलाए । र, त्यसैको क्लाइमेक्स हो, उनको भारत भ्रमण, जहाँ केपी ओलीको राष्ट्रवादको भाँडो पूर्ण रुपमा घोप्टियो ।

–पार्टी एकता हुन नदिन चुनावअघिदेखि नै विभिन्न तत्वहरु लागेका थिए । अहिले पनि माओवादीको भर छैन, धोका दिन सक्छ भन्दै ओलीलाई भड्काउने काम भइरहेको छ । विशेषगरी भारतसँग सम्बन्ध सुध्रिएपछि ओली माओवादीलाई पेल्ने मुडमा बढी देखिएका छन् । माओवादी आएन भने मधेसी दलले हामी छौं भनेर ओलीलाई आश्वासन दिइरहेका छन् ।

–गत चुनावमा एमाले र माओवादी दुबै दल साझा घोषणापत्र लिएर गएका छन् र मतदाताको म्यान्डेट भनेको पनि दुई पार्टीवीच एकता हुनैपर्छ भन्ने हो । र, एकता जरुरी छ, एकता गर्नैपर्छ, तर बराबरी हैसियतका आधारमा सम्मानजनक एकता होस् भन्ने अध्यक्ष प्रचण्डको चाहना छ । त्यसैले एकता वैशाख ९ मा नभए पनि, केही ढीलो भएता पनि अवश्यै हुन्छ, हुनुपर्छ ।

एमालेको आरोपः प्रचण्डले प्रधानमन्त्री बन्न खोजे
एमालेका नेताहरुसँग कुरा गर्दा उनीहरु प्रचण्डले प्रधानमन्त्रीको सुनिश्चितता खोजेका कारण एकता प्रक्रियामा ढिलाइ भएको दाबी गर्छन् । माओवादी–एमाले एकता प्रक्रियामा आएको उतार–चढावबारे कुराकानी गर्दा एमाले स्रोतले यस्तो विश्लेषण सुनायोः

–पार्टी एकताका क्रममा ५०–५० को बराबरी हैसियत र जनयुद्धका विषयहरु बाहिर आएता पनि प्रचण्डले अढाइ वर्षपछि आफू प्रधानमन्त्री हुने सुनिश्चितता केपी ओलीबाट खोजेका छन् । मौखिक रुपमा त ओलीले पहिले नै वचन दिइसकेका छन, तर प्रचण्ड लिखितमा चाहन्छन, ओली लिखित गर्न चाहँदैनन् ।

–संयुक्त दस्तावेजमा जनयुद्ध शब्द लेख्न आपत्ति छैन, जनयुद्ध कटु सत्य थियो, त्यो दस्तावेजमा लेख्न सकिन्छ । किनभने जनयुद्ध गर्ने कुरो होइन, भएको थियो भनेर लेख्न एमालेलाई आपत्ति छैन ।

–कतिपय बेलामा प्रधानमन्त्री ओलीको कार्यशैलीले पनि माओवादीमा आशंकाहरु जन्माउने गरेको छ । माओवादी नेतालाई बोलाएर उनी घण्टौं कुराइदिन्छन् । सरकार सञ्चालनमा पनि र पार्टी सञ्चालनमा पनि ओलीको कार्यशैलीमाथि पहिल्यैदेखि प्रश्न उठ्ने गरेको छ कि उनी सबैसँग सरसल्लाह गर्दैनन् । माधव नेपाल पक्षले पनि विगतमा यही गुनासो गर्दै आएको हो ।

–तथापि दुई पार्टीवीच बेलाबेला असमझदारी र आशंकाहरु जन्मिए पनि पार्टी एकता नै भाँडिने गरी सम्बन्ध चिसिँदैन, पार्टी एकता सुनिश्चित छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्