सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय दुतावासको सम्पर्क कार्यालयमा बम बिस्फोट

भारतीय राजदूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी सोमबार राति बम बिस्फोट गराईएको छ । बिष्फोटबाट विराटनगर–१३ स्थित उक्त कार्यालयको पर्खालमा सामान्य क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सम्पर्क कार्यालय पछाडिको खुल्ला चौरमा भएको बिस्फोटले कार्यालयको पर्खालमा सामान्य क्षति भएको जानकारी दिएका छन ।

‘बम कसले र किन बिस्फोट गराएको भन्ने बारे केही खुल्न सकेको छैन,’ उनले भने, ‘घटनाको छानबिन भइरहेको छ त्यसपछि मात्रै केही भन्न सकिन्छ ।’ घटनास्थलमा र सम्पर्क कार्यालयको वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले प्रेसरकुकर बम बिस्फोट गराईएको आशंका गरेको छ ।

प्रहरीले बम बिस्फोट गराउने बारे अनभिज्ञता व्यक्त गरे पनि मंगलबार नेत्र बिक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेकोले उनकै कार्यकर्ताले बम बिस्फोट गराएको हुन सक्ने अनुसन्धानमा खटिएको प्रहरीको आशंका छ ।

यसैगरी, विप्लव समूहका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गको गछिया खोलाको पुलमा शंकास्पद बस्तु राखेकोले रातिदेखि बिहान ८ बजेसम्म यातायात ठप्प भएको थियो । प्रहरी उपरीक्षक बिसीले शंकास्पद बस्तु देखिए पनि त्यसमा केही नभएको र यातायात सुचारु भइसकेको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्