माओवादी र युथफोर्सका नेता मनोज पुनका सुराकी
दुई महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनलाई सुराकी गरेर सहयोग गर्ने ५ जना सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु माओवादी र एमालेका नेता कार्यकर्ता भएको रुपन्देही प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का रहेका छन् ।
पक्राउ परेका लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने उत्तम युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । श्रेष्ठ मदिरा उद्योगी हुन् । उनीहरुले मनोजलाई जिल्लाका उद्योगी व्यवसायीहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले बताएका छन ।
पुनले उनीहरूलाई सुराकीको रूपमा प्रयोग गरेका थिए । प्रहरीका अनुसार उनीहरुले पुनलाई आपराधिक कार्य गर्न प्रोत्साहन गर्ने र आर्थिक सहयोग समेत गर्ने गरेका थिए । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्