सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रधानमन्त्री वली फिल्म खेल्दै, ४ किलो लड्डु भाकल

प्रधानमन्त्री केपी शर्मा ओलीले रारातालबाट देशबासीको नाममा गरेको सम्बोधनको बिषयलाई लिएर प्रदेश नम्बर ४ का सांसद कुमार खड्काले कडा व्यंग्य प्रस्तुत गरेका छन । सांसद खड्काले प्रधानमन्त्री ओलीलाई हिरो हुने रहर जागेकोतर्फ संकेत गर्दै उनको फिल्म सुपर डुपर होस भनेर शुभकामना दिएका छन ।

बिहिबार प्रदेशसभा ४ को बैठकमा बोल्दै सांसद कुमार खड्काले भनेका छन–‘मैले अत्यन्तै आदर गर्ने केपी ओलीज्यू राजनीतिमा जस्तै अभिनय जगतमा समेत शीर्षमा पुग्न सकुन, राजेश हमाल र भुवन केसीभन्दा ठूलो सफल हिरो हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीमा आधारित फिल्म ‘रातो सूर्य’को प्रसंग निकाल्दै उनले भने ‘उहाँको प्रशंसक भएको हुँदा उहाँको अभिनय यात्रा सफल र ‘रातो सूर्य’ फिल्म सुपर डुपर हिट होस् भनेर माता विन्ध्यावासिनीसँग ४ किलो लड्डु चढाउने भाकलसमेत गरेको छु ।’

सांसद खड्काले बिहीबार प्रदेशसभा बैठकको विशेष समयमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरेको व्यंग्यले व्यापक चर्चा पाएको छ । सांसद खड्काले रारा तालबाट गरेको सम्बोधन र रारामा रातो सूर्य चलचित्रको छायांकनका लागि कार्यक्रम गरिएको खबर बाहिर आइरहेको भन्दै ओलीप्रति व्यंग्य गरेका हुन ।

‘प्रधानमन्त्रीज्यूले नयाँ वर्षमा राराबाट गर्नुभएको सम्बोधन राष्ट्रहित, राष्ट्रिय कर्तव्य पूरा गर्न नभइ ‘रातो सूर्य’ चलचित्रको लागि आवश्यक दृश्य संकलनको लागि गरिएको सुटिङ थियो भनेर समाचार सप्रेषण गरिएको छ,’ खड्काले भने ।

उच्च सुरक्षा घेरामा रहेका प्रधानमन्त्रीले राराको डिलबाट सम्बोधन गरिरहँदा अत्यन्तै अस्वभाविक रुपमा रारा र प्रधानमन्त्रीको कुर्सीबीचबाट मानिसहरु हिँडिरहेको दृश्य फिल्मी भएको खड्काले आरोप लगाएका छन ।

खड्काले ‘रातो सूर्य’ कै सुटिङका लागि राराबाट सम्बोधन भएको हो वा होइन भन्ने विषयको जानकारी गराउन मागसमेत गरेका छन् । ‘यसको सत्य तथ्य पत्ता लगाई राष्ट्रिय ढुकुटी दुरुपयोग भएको, नभएकोबारे राष्ट्रलाई जानकारी गराउन सभामुखमार्फत् आग्रह गर्दछु,’ खड्काले आफ्नो लिखित सम्बोधनमा भनेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS