फुटवलका खेलाडी पेशा वदलेर बने चोरका कप्तान
‘सरस्वती युथ क्लव’ नेपालको ‘ए’ डिभिजन क्लब हो । उसले पछिल्लो पटक २०१३–१४ मा ‘ए’ डिभिजन लिग खेल्दा दिपेश श्रेष्ठ टोलीका प्रमुख सदस्य थिए । त्यो वर्ष नकआउट प्रतियोगिताहरुमा पनि उनले गोल गरेका थिए ।
तर, लामो समयसम्म ‘ए’ डिभिजन लिग नै हुन छाडेपछि सरस्वती क्लब निस्क्रिय जस्तै भएको छ । खेलाडीहरु पनि तितरवितर भएका छन् । उनीहरु मध्येका एक दिपेश भने चोरीको आरोपमा पक्राउ परेका छन् ।
मोबाइल, ल्यापटप लगायतका सामग्री चोरी गरेर विक्री वितरण गर्ने कारोबारी सक्रिय रहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली श्रेष्ठसम्म पुगेको थियो ।
प्रहरीले बुधबार काठमाडौं–६, रेम्बोडाँडाबाट बाच्छो भनिने सुवास खड्कालाई शंकास्पद अवस्थामा भेटेको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा साथीसँग मिलेर चोरीका सामान किनबेच गर्ने गरेको बयान दिए ।
प्रहरीका अनुसार चोरीका सामान फुटबलर श्रेष्ठको कोठामा लुकाएर राख्ने गरेको पाइएको छ । खानतलासीका क्रममा श्रेष्ठको कोठाबाट विभिन्न ब्रान्डका ३३ वटा मोबाइल, दुई वटा आइफोन, ३ वटा पावर बैंक, सोनी कम्पनीको ३२ इन्जको टिभी एक थान, ५ वटा ल्यापटप लगायतका सामग्री बरामद भएको छ ।
हाल प्रहरी हिरासतमा रहेका फुटवलर श्रेष्ठले चोरीमा संलग्न भएको स्वीकार गरेका छन् । सुवाससँग एक वर्षदेखि चिनजान रहेको र साथीकै लहैलहैमा लागेर चोरी गरेको उनले बताएका छन् ।
चोरीका सामानहरु फेसबुक ग्रुप र अनलाइन किनबेच गर्ने वेवसाइटमार्फत विक्री वितरण गर्दै आएको बयान दिएका छन् । पक्राउ परेका दुवै जनामाथि मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्