बलत्कार गर्न खोजेको भन्दै अण्डकोषमा हानेर हत्या
दाङमा बलात्कार प्रयास गर्ने एक पुरुषलाई महिलाले लात्तिले हिर्काउँदा अण्डकोषमा लागेर ठाउँको ठाउँ ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका १५ कि ४० वर्षीया एक महिलाले आफुलाई बलत्कार गर्न खोज्ने स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको हत्या गरेकी हुन ।
खत्रीले बलात्कारको प्रयास गरेपछि लात्तीले हिर्काउँदा अन्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको ति महिलाले प्रहरीलाई बयान दिएकी छिन । प्रहरीका अनुसार खत्री वैशाख ९ गते राति १ देखि डेढ बजेको बीचमा गुट्खा किन्ने बहानामा पसलमा पुगेका थिए ।
उनले गुट्खा किनेपछि आफूलाई तिर्खा लागेको भन्दै महिलाको कोठामा गएका थिए । त्यही क्रममा खत्रीले ती महिलालाई बलात्कार गर्ने प्रयास गरेका थिए । सोही क्रममा ति पुरुषबाट बच्न आफुले लात्तिले हान्दा उनको अण्डकोषमा लागेर ठाउँको ठाउँ मृत्यु भएको ति महिलाले बताएकी हुन ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी प्रकाश सापकोटाले भने–‘राति सामान किन्ने बहाना बनाएर पसलमा गएको र फेरि पानी खाने भनेर कोठामा प्रवेश गरेर जबर्जस्ती करणी गर्न खोजेपछि महिलाले संवेदनशील अंगमा लात्तीले हान्दा मृत्यु भएको भन्ने बुझिएको छ ।’
यद्यपि मृतक खत्रीका परिवारले भने हत्या भएको भन्दै जाहेरी दिएपछि प्रहरीले ती महिलालाई हिरासतमा लिएको छ । डिएसपी सापकोटाले भने–‘मृतकका परिवारले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि महिलालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं । यो विषय सतित्व रक्षा अन्तर्गत पर्ने वा नपर्ने सम्मानित अदालतले टुंगो लगाउला ।’
मुलुकी ऐन जबर्जस्ती करणीको ८ नम्बर अनुसार जबर्जस्ती करणी गर्ने मनसायले कसैले जोर जुलुम गरेमा महिलाले आत्म रक्षाको लागि हतियार चलाउँदा ज्यान मर्न गएको ठहरे कुनै सजाय भोग्नु पर्दैन ।
बलत्कारबाट बच्ने अन्य कुनै उपाय नभएमा बलत्कार हुनबाट बच्ने क्रममा बलत्कार गर्न खोज्दा, हुँदै गर्दा र भईसकेपछी समेत पिडितले लाठो, ढुंगा, हतियार वा हात खुट्टाले हिकाउँदा ज्यान गएमा कुनै वात नलाग्ने उक्त दफामा व्यवस्था गरिएको छ ।
बलत्कारको प्रयास गर्दा वरीपरी सहयोग माग्ने कोही भएमा, अन्य विकल्प हुँदा हुँदै पनि बलत्कार प्रयासको बहानामा हत्या भएमा कस्तो सजाय हुने भन्ने कुरा भने कानुनमा प्रस्ट उल्लेख छैन । बलत्कार गर्न खोज्दाखेरी नै हत्या भएको हो भन्ने दरीलो प्रमाण नभएको खण्डमा पिडित भनिएको (पु÷म)व्यक्तिकै बयानलाई आधार मान्ने वा के गर्ने भन्ने पनि प्रस्ट उल्लेख भएको देखिँदैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्