ओलीको उखानको यसरी स्पष्टिकरण दिए प्रचण्डले
दुबै पार्टीका अध्यक्षले समय निकाल्न नसक्दा माओवादी केन्द्र र एमालेबीचको एकता प्रक्रिया अड्किएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले सकेसम्म छिटो पार्टी एकता गर्ने कोशिस भइरहेको पनि बताएका छन ।
अध्यक्ष दाहालले पार्टी एकताको मिति शुक्रबार टुंगिने समेत स्पष्ट पारेका छन । दाहालले भने–‘दुईटा अध्यक्षले पर्याप्त समय निकाल्न सक्ने हो भने एकता टुंगिनेतिर जाने थियो’ उनले थप भने, ‘प्रधानमन्त्री त व्यस्त हुनु हुनेनै भयो, म प्रधानमन्त्री नभएपनि व्यस्त हुनु परेकोले समय दिन नसकिएको हो ।’
‘लेनिनले बरु सयचोटी नाप्ने तर जुत्ता अनुसारको खुट्टा बनाउने भन्नु भएको थियो’ जुत्ता र खुट्टाको प्रसंगमा अध्यक्ष प्रचण्डले भने, ‘ओलीजीले प्रतिकात्मक अर्थमा खुट्टा ताछेर भएपनि जुत्ता लगाउने भन्नु भएको हो । सबै कुरा मिलिसकेपछि संख्याको कुरा पनि मिल्छ ।’
केही दिनअघि लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खुट्टा ताछेरै भएपनि जुत्ता लगाउन योग्य बनाउने उदाहरण दिँदै पार्टी एकता भएरै छाड्ने बताएका थिए ।
अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन मद्दत पुग्ने बताएका छन । ‘मोदीजीको धेरै पहिलेदेखि रोकिएको काम पनि हो जनकपुर र मुक्तिनाथ जाने’ उनले भने, ‘दुई देशबीचको सम्बन्ध सुधारमा यसले (मोदीको नेपाल भ्रमणले) राम्रो परिस्थिति बनेको छ भन्ने देखाउँछ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्