दाईजोले बिहे भाँडिएपछी युवतीले गरिन आत्महत्या
दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा बहुदरमाई नगरपालिका–८ का बच्चु भन्ने जयनारायण साहलाई पक्राउ गरेको छ ।
पोष्टमार्टम रिपोर्टले युवतीले आत्महत्या गरेको पुष्टि भएको छ । जयनारायणका छोरा २१ बर्षीय शिव दयाल र वीरगञ्ज महानगरपालिका–२३ का दिनदयाल साह तेलीको छोरी १८ वर्षीया रविताकुमारीबीच विवाहको कुरा छिनिएको थियो ।
वैशाख १४ गते विवाह गर्ने तय भएको थियो । विवाहको निमन्त्रणा कार्डसमेत छापिसकेको थियो । तर, जयनारायण र उनको छोरा शिवदयालले दिनदयाललाई फोन गरी थप ८० हजार दाइजो मागे ।
बिहेको कुरा छिन्दा नै सुनका गहना लगायत दाइजो लेनदेनको सहमति भएको थियो । तर, केटापक्षले थप दाइजो मागेपछि दिनदयालले असमर्थता जनाए । जयनारायणले ‘दाइजो नदिने भए विवाह गर्न आउँदैनौ’ भनिदिए ।
रविताकुमारीले शिव दयाल (विवाहका लागि तय भएका केटा)सँग फोनमा कुरा गरिन् । तर, उनले पनि थप दाइजो मागे । त्यही कारण रविताले वैशाख ६ मा आत्महत्या गरिन् ।
‘दाइजो दिएर बिहे गर्नु भन्दा मर्नु नै बेस’ भन्दै किशोरीले आत्महत्या गरेको पुष्टि भएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताएका छन । प्रहरीले दाइजोका लागि दबाव दिने जयनारायणलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ गरेको छ ।
कुनै दबाव वा प्रभावका कारण आत्महत्या गरेमा त्यस्तो कारकलाई पक्राउ गरी कारबाही गर्न सक्ने व्यवस्था छैन । तर, दाइजोको मोलमोलाई भएका कारण सामाजिक व्यवहार सुधार ऐन आकर्षित हुने देखिएको छ ।
उनले भने ‘दाइजोकै विषयलाई लिएर किशोरी तनावमा आई आत्महत्या गरेको देखिन्छ । त्यसैले आत्महत्या गर्न बाध्य पार्नेलाई पक्राउ गरी अनुसन्धान शुरु गरेका छौं ।’
जयनारायणलाई जिल्ला प्रशासन कार्यालय पर्सामा सामाजिक व्यवहार (सुधार) ऐन–२०३३ अन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्