म कोदालो खन्न र ईँट्टा बोक्न तयार छुः प्रधानमन्त्री
विनाशकारी गोरखा भूकम्प गएको तीन वर्ष पुगेको छ । आठ हजार भन्दा धेरै मानिसको ज्यान लिने गरी गएको भूकम्पले धेरै भौतिक संरचना पनि भत्कायो । भत्काएमाध्ये धेरै संरचना अहिले धमाधम बनिरहेका छन् । तर नेपालीको शान बनेको धरहरा अझै उठेको छैन ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नै बनाउने भनिएको धरहराको ढलेको ठुटोले अँझै पनि सरकारलाई गिज्याइरहेको छ । भीमसेन स्तम्भका रुपमा परिचित धरहरामूनि दोस्रो पटक प्रधानमन्त्री बनेपछि केपी शर्मा ओली बुधबार पुगे । ढलेको धरहराको ठुटाको आडैमा एक कार्यक्रम गरेर भूकम्पमा ध्वस्त संरचनालाई पुननिर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रम ओलीले बताए ।
उनले भूकम्पले ढलेको नेपालीको शान धरहरालाई स्वाभिमानका साथ उठाउने दाबी गरे । प्रम ओलीले ढलेको धरहरा उठाउन आफू कोदालो खन्न र डोकोमा इँटा बोक्न पनि तयार रहेको स्पष्टिकरण दिए ।
‘भूकम्पले ढलेको हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ’, कार्यक्रममा उनले भने, ’त्यसका लागि म कोदालो खन्न तयार छु, खर्पन र डोकोमा इँटा बोक्न तयार छु । हामी जहाँ छौँ, त्यहीँबाट नव निर्माणमा जुटौं ।’
सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा जनवाद आउने उद्घोष पनि गरेका छन् । काठमाण्डौको सुन्धारास्थित धरहराको भग्नावशेष रहेको स्थानमा भूकम्पमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अपर्ण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब फाँसीवाद होइन जनवाद आउँछ । समृद्धिवाद, खुसीवाद आउँछ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै सरकार बलियो हुँदा तानाशाही देख्ने प्रवृत्ति रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र बलियो हुनु भनेको जनता बलियो हुनु रहेको स्पष्ट पारेका छन ।
‘सरकार जनताको सेवामा लाग्दा फाँसिवाद कसरी आउँछ ? जनतालाई भोको राखेर कस्तो लोकतन्त्र आउँछ ?,’ प्रधानमन्त्रीले भने, ‘अलपत्रवाद होइन अब जनताको व्यवस्था ल्याउँछौ ।’
रोजगारी नभएर जनता बलियो नहुने जिकिर गर्दै उनले नेपालमा रोजगारी भएको जनता बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । ‘मौरीले टाढा टाढा गएर आफ्नो घार भर्छ । तर, हामी चाहीँ घार छाडेर विदेश गइरहेका छौँ,’ उनले भने ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्