नेपालीको प्रतिव्यक्ति आय १ लाख ४ हजार रुपैयाँ
यो बर्ष नेपालीको प्रतिव्यक्ति आय एक हजार ४ डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय (१ हजार ४ डलर) आजको डलरको मूल्यअनुसार यो १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन आउँछ ।
पहिलो पटक नेपालीको ‘पर क्याप्टा इन्कम’ डलरमा फोर डिजिट भएर १ लाख रूपैयाँ माथि पुगेको हो । गतवर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६६ डलरमा पुगेको थियो । यो वर्ष भने नेपालीका प्रतिव्यक्ति आय थप सुधार हुँदै १३८ डलरले प्रतिव्यक्ति आयमा वृद्धि भएको हो ।
त्यस्तै यसवर्ष मुलुकको अर्थतन्त्र झण्डै ६ प्रतिशतले विस्तार हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको मुलुकको अर्थतन्त्र बारेको राष्ट्रिय लेखा तथ्यांकले ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखाएको हो ।
वर्तमान सरकारले बजेटको मध्यावधि समीक्षामा प्रक्षेपण गरेको भन्दा यो वृद्धिदर ०.११ प्रतिशत विन्दुले कम हो । चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षामा ६ प्रतिशतको वृद्धि अपेक्षा गरिएको थियो ।
गतवर्ष ६.९ प्रतिशतले बढेको कुल गार्हस्थ उत्पादन (जीडीपी) यसवर्ष पनि तुलनात्मक रुपमा उच्च रहेपछि प्रतिव्यक्ति आय समेत बढेको विभागको भनाइ छ । यो वर्ष अर्थतन्त्रको आकार पनि बढेर ३० खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा कुल जीडीपी २६ खर्ब रुपैयाँ थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्