सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुकमा अब डेटिङ्ग सेवा, हिज्ट्री डिलिट पनि

फेसबुकका सिईओ जुकरबर्गले फेसबुकका केही नयाँ सेवाहरुको बारेमा महत्वपुर्ण घोषणा गर्दै अब फेसबुकले छिटै नै डेटिङ सर्भिस सुरु गर्ने जानकारी दिएका छन । क्यालिफोर्नियामा आयोजित फेसबुकको वार्षिक एफएट सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जुकरबर्गले यस्तो घोषणा गरेका हुन् ।

डेटिङ्ग सर्भिसको माध्यमबाट फेसबुक प्रयोगकर्ताले आफ्ना लागि उत्कृष्ट डेटिङ पार्टनरको खोजी गर्न सक्नेछन् । जुकरबर्गका अनुसार फेसबुकमा झण्डै २ करोड मानिसले आफ्नो स्टाटस एकल अर्थात सिंगल उल्लेख गरेका छन् । त्यसैले त्यस्ता एकल मानिसका लागि फेसबुकको उक्त डेटिङ सेवा उपयुक्त मौका हुने उनी बताउँछन् ।

एफएट सम्मेलनलाई सम्बोधन गर्दै जुकरबर्गले आगामी दिनमा फेसबुकले आफ्ना प्रयोगकर्तालाई ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा प्रदान गर्न लागेको महत्वपुर्ण जानकारी गराएका छन । फेसबुक संस्थापक मार्क जुकरबर्गले गत मंगलबार यसको घोषणा गरेका हुन् । जुकरबर्गका अनुसार फेसबुकको पुरानो हिस्ट्री डिलिट गर्ने टूलको नाम ‘क्लियर हिस्ट्री’ हुनेछ ।

उनले भनेका छन, ‘यो निकै सजिलो कदम हुनेछ, जसका माध्यमबाट तपाईं आफ्नो ब्राउजिङ हिस्ट्री डिलिट गर्न सक्नुहुनेछ । तपाईंले कुन लिंक क्लिक गर्नुभयो, कुन वेबसाइट भिजिट गर्नुभयो भन्ने जस्ता जानकारीहरु तपाईंले क्लिएर हिस्ट्रीका माध्यमबाट हटाउन सक्नुहुनेछ ।’

धेरै प्रयोगकर्ताले यस्तो सुविधाका बारेमा कुरा गरिरहेको भन्दै जुकरबर्गले भनेका छन, ‘फेसबुकमा विज्ञापन तथा अन्य टूल्सका माध्यमबाट जुन वेबसाइट तथा एप्स तपाईंले हेर्नुहुन्छ, त्यसलाई आफ्नो इच्छाअनुसार डिलिट गर्न सक्नुहुनेछ । यदि तपाईं त्यसलाई सुरक्षित राख्न चाहनुहुन्छ भने क्लियर हिस्ट्रीलाई ‘टर्न अफ’ गरेर सुरक्षित पनि राख्न सक्नुहुन्छ ।’

पछिल्ला दिनहरुमा फेसबुकमाथि आफ्ना प्रयोगकर्ताका डाटा अन्य कम्पनीलाई बेचेको आरोप लागिरहेको छ । करोडौं प्रयोगकर्ताका निजी डाटाहरु राजनीतिक लाभका लागि क्याम्ब्रिज एनालिटिका नामक कम्पनीलाई बेचेको आरोप फेसबुकमाथि लाग्दै आएको छ ।

जुकरबर्गका अनुसार आगामी दिनमा यस्तो खाले गडबडी हुन नदिनका लागि फेसबुकले निकै सख्त कदम उठाउँदैछ । जुकरबर्ग भन्छन–‘सबैभन्दा पहिले जस्तो की, डेभलपर्सहरुलाई फेसबुक प्रयोगकर्ताका डाटा माग गर्नमा रोक लगाइएको छ र दोश्रो डाटा सुरक्षाका लागि खतराको रुपमा रहेका विषयहरुको खोजी गरिँदैछ ।’

उनका अनुसार सन् २०१४ ताका फेसबुक प्रयोगकर्ताका धेरै जानकारीहरु प्राप्त गरेका ती एपहरुको जाँच भैरहेको छ । यदि त्यसमा कुनै आशंका उत्पन्न भएमा त्यसको स्वतन्त्र जाँच गराइनेछ । यदि फेसबुक प्रयोगकर्ताको डाटाको गलत प्रयोग भएको पाइएमा एप डेभलपरलाई प्रतिबन्ध लगाइनेछ ।

साथै इन्स्टाग्राममा भिडियो च्याट तथा नयाँ फिचर्ससमेत थप गर्न लागिएको जानकारी जुकरबर्गले गराएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्