सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किम जोङ र ट्रम्पबिचको ऐतिहासीक वार्ता सकियो

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ । करिब ४५ मिनेट चलेको वार्ता दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेका थिए ।

वार्तास्थलबाट सँगै निस्किएका उनीहरुमध्ये अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबिच सौहार्दपूर्ण वार्ता भएको जानकारी गराएका छन । ट्रम्पले भनेका छन–‘मलाई एकमद खुसी लागिरहेको छ। हामी बिच सौहार्दपूर्ण वार्ता र छलफल भयो । मलाई विश्वास छ हामीबिचको सम्बन्ध गज्जबको हुनेछ, यसमा मलाई कुनै शंका छैन ।’

सिंगापुरमा भएको शिखरवार्तामा कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरण तथा कोरिया युद्धको औपचारिक समाप्तिबारे छलफलसमेत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई नेताबीच भएको यो प्रथम भेटलाई विश्व राजनीतिको ऐतिहासिक क्षण मानिएको छ ।

ट्रम्पले वार्ता अघि नै शान्तिका लागि ‘एक पटकको प्रयास’ भएको बताउँदै आएका छन् । उनले वार्ताको सम्भावित नतिजाबारे आफूले एक मिनेटमै थाहा पाउने दाबी गरेका थिए ।

अमेरिका उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छ । ट्रम्पले किमसँग लामो समयसम्म छलफल चल्न सक्ने र त्यसपछि पनि कैयौं पटक भेट गर्नुपर्ने हुन सक्ने यसअघि नै बताइसकेका छन ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किम ऐतिहासिक शिखर वार्ताका लागि एक दिन अघि नै सिंगापुर पुगेका थिए । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।

उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेका थिए । उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आइतबार ३ वटा हवाईजहाज गएका थिए । तर उत्तर कोरियाली अधिकारीले किम तीमध्ये कुन जहाजमा यात्रा गरेका छन् भन्नेबारे जानकारी गराएका थिएनन् ।

सिंगापुरको चाङगी विमानस्थलमा अवतरण गरेको पहिलो कार्गो जहाजले किम चढ्ने सुरक्षित लिमोजिन गाडी ल्याएको थियो । दोस्रो एयर चाइना ७४७ जहाज आइतबार बिहानै बेइजिङबाट छुटेको करिब एक घण्टा प्योङयाङमा रोकिएपछि बेइजिङ फर्कनुको साटो सिंगापुरतर्फ लागेको थियो ।

त्यसैगरी, किमको निजी जहाजले पनि सँगसँगै उडान भरेको थियो । त्यसकारण अधिकारीहरूलाई किम कुन जहाजबाट आउँछन् भन्ने यकिन थिएन । यद्यपि, एयर चाइना ७४७ बाट आफ्नो टोलीसहित निस्केका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए ।

उत्तर कोरियाली टोलीमा वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरू रहेका छन् । उत्तर कोरियाली टोली सेन्ट रेगिस होटलमा बसेको रोयटर्सले जनाएको छ । किमले सिंगापुरका प्रधानमन्त्री लि सियेन लुंगसँग भेटवार्ता गरेका थिए ।

किमले सन् २०११ मा देशको शासनसत्ता सम्हाले यता तेस्रो देशमा पाइला टेकेका हुन् । यसअघि उनी दक्षिण कोरिया तथा चीनको भ्रमणमा निस्केका थिए । चीन उत्तर कोरियाको निकटस्थ राष्ट्र हो । किम गत अप्रिल महिनामा दुई कोरियाबीच भएको शिखर वार्ताका क्रममा दक्षिण कोरिया पुगेका थिए ।

सिंगापुर शिखर वार्तासँगै दुई कोरियाको सीमा क्षेत्रमा नागरिकहरूले दुर्लभ करिब ७० वर्षदेखि हुन नसकेको शान्ति सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरेका छन् । ट्रम्प र किमबीच हुने शिखर बैठकबारे भने सरकारी नियन्त्रणमा रहेका उत्तर कोरियाली सञ्चारमाध्यमले सूचना सम्प्रेषणमा नियन्त्रण गरिरहेको जनाइएको छ ।

नागरिकसम्म के–के जानकारी पुर्याउने भन्नेबारे नियन्त्रण कायम गर्ने उत्तर कोरियामा महत्त्वपूर्ण घटना भएपछि मात्रै त्यसबारे समाचार दिने अभ्यास छ । बैठकबारे उत्तर कोरियाली सञ्चारमाध्यमले प्रत्यक्ष उल्लेख गरेका छैनन् । गत मेमा शिखर बैठकमा सहभागी नहुने प्योङयाङले चेतावनी दिएपछि त्यसको चर्चा गरिएको थियो ।

वार्ता क्यापिला होटलमा भए पनि दुई नेता बस्ने व्यवस्था भने अन्यत्रै छ । ट्रम्प सिंगापुरको मुख्य टापुस्थित सांग्रिला होटलमा बसेका छन । उनी उक्त होटलमा यसअघि पनि बसिसकेका थिए । यस्तै किम भने सेन्ट रेगिस होटलमा बसेका छन् ।

१ सय १२ कोठा भएको क्यापिला रिसोर्ट ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ब्रिटिस आर्किटेक्टले डिजाइन गरेको यो रिसोर्टमा ब्रिटिस शासनकालका कैयौं भवन छन ।

यो रिसोर्टको प्रिमियर गार्डेन किङ नामक कोठाको शुल्क प्रतिरात ५३ हजार ६ सय नेपाली रुपैयाँ छ । यस्तै, प्राइभेट पुलका साथ तीन कोठा भएको कोलोनियल मनोरको एक रातको शुल्क ८ लाख नेपाली रुपैयाँ पर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्