प्रचण्डले किन दिएनन् नेपाललाई कार्यवाहक अध्यक्ष
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड कार्यवाहक अध्यक्ष कसैलाई नदिइ विदेश भ्रमणमा निस्किएको खुलेको छ । ओली र प्रचण्डको अनुपस्थितिमा यसअघि माधवकुमार नेपाल कार्यवाहक अध्यक्ष तोकिएका थिए ।
यसपटक ओली असोज ६ गते न्यूयोर्क जाँदा प्रचण्ड नै भएकाले कार्यवाहक दिनुपरेको थिएन । प्रचण्ड पनि पत्नी सीता दाहालको उपचारका लागि बुधवार साँझ सिंगापुर उडेका छन तर कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र केन्द्रीय कार्यालयबाट चलानी नभएको स्रोतले जनाएको छ ।
नेकपाको शीर्ष बरियता अनुसार तेस्रो नम्बरमा रहेका माधव नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी नपाएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन । यसअघि प्रचण्ड सिंगापुर गएको बेला अर्का अध्यक्ष ओली भारत भ्रमणमा जाने क्रममा नेपाललाई लिखित रुपमा कार्यवाहक जिम्मा दिएका थिए ।
सचिवालयले पछिल्लो पटक प्रदेश कमिटीका पदाधिकारी चयन गरेको निर्णयमा नेपाल अशन्तुष्ट छन । उनी अफ्रिका भ्रमणमा रहेका बेला निर्णय भएको थियो । उनले आफ्नो असहमति स्थायी कमिटी र सचिवालय बैठकमा राख्ने बताइसकेका छन ।
नेकपाको कार्यवाहक अध्यक्ष कसैले नपाए पनि सरकार र संसदीय दलको नेतृत्वमा भने कार्यवाहक जिम्मेवारी दिइएको छ । ओली विदेश जाने क्रममा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सुवास नेम्वाङलाई लिखित रुपमै दिएर गएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्