सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खेलिरहेकी ५ बर्षकी बालिका बलात्कारी कमल खोरमा

तामाकोसी गाउँपालिकाकी ५ वर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कर्मचारी कमल बजगाईं पक्राउ परेका छन । २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाईं फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले बिहीबार राजधानी काठमाडौंस्थित कोटेश्वरबाट बजगाईंलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिएका छन । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भइसकेको छ । तर, फरार रहेका बजगाईंले विभिन्न व्यक्ति प्रयोग गरी बलात्कारको मुद्दा फिर्ता गराउन र पैसा दिएर मिलाउन पीडित परिवारलाई ठूलो दबाब दिँदै आएका थिए । पाठकका अनुसार फरार रहेका बजगाईंलाई नियन्त्रणमा लिन प्रहरीले ठूलो मेहनत गर्नुपरेको थियो ।

खानेपानी कार्यालयमा करारका कर्मचारी बजगाईं पहुँचको धाक लगाई करार अवधी सकिए पनि जबर्जस्ती हाजिर गर्दै आएका थिए । भदौ १७ देखि कार्यालय नगएका उनले २१ गते सम्मको हाजिर पहिले नै गरेको पाइएको कार्यालय प्रमुख डिभिजन इन्जिनियर चन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्