सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वडाध्यक्षले मोटरसाईकल चालक राखेपछी हंगामा

राज्यका उच्च ओहोदामा पुगेका नेता तथा अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होइन । तर गुल्मी इस्मा गाउँपालिका–२ का वडा अध्यक्ष टीका रेश्मीले भने मोटरसाइकल चालक सुविधा लिएका छन । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाइकल चालक भर्ना गरेका छन ।

गाउँपालिका कार्यालय वा अन्यत्र जान उनले लु१ब १४८० नम्बरको मोटरसाइकल प्रयोग गर्दै आएका छन । मोटरसाइकल चलाउन नजान्ने उनले रमेश घिमिरेलाई चालक राखेका छन । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला जनप्रतिनिधिले नै मोटरसाइकल चालक भर्ना गरेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन ।

चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाइकलमा राखेर उनले भनेको ठाउँमा पुर्याउनु हो । नियुक्तिपत्रमा भने घिमिरेको पद कार्यालय सहयोगी भनिएको छ । घिमिरेलाई कार्यालय जानु पर्दैन । कार्यालय समय वा अन्य समयमा उनको काम वडाध्यक्षको मोटरसाइकल चलाउनु हो ।

वडाध्यक्ष रेश्मीले प्रयोग गर्ने मोटरसाइकल गाउँपालिकाले केही महिनाअघि खरिद गरेको हो । गाउँपालिकाले वडाध्यक्षहरूका लागि एकएकवटा मोटरसाइकल किनेको छ । यसैगरी प्रमुख र उपप्रमुखका लागी गाडी खरिद गरिएको छ ।

वडाध्यक्ष रेश्मीले आफूसँग लाइसेन्स नभएकाले घिमिरेलाई चलाउन लगाएको बताएका छन । उनले भने–‘गाउँपालिका कार्यालय जाँदा मोटरसाइकल चढ्नुपर्ने हुन्छ । हिँडेर जान कठिन हुन्छ । मैले आफै मोटरसाइकल चलाउन सक्दिनँ । लाइसेन्स पनि छैन । त्यसैले कार्यालय सहयोगीलाई मोटरसाइकल चलाउन लगाउँछु ।’

वडाध्यक्ष रेश्मीको सिफारिसमा घिमिरेलाई कार्यालय सहयोगी नियुक्त गरिएको हो । वडाध्यक्षले मोटरसाइकल चालक भर्ना गरेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा बेनामी उजुरी परेको छ । सतर्कता केन्द्रले कारबाहीका लागि त्यो उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

केन्द्रले पनि छानबिन गरिरहेको एक कर्मचारीले बताएका छन । जनप्रतिनिधिका अनियमितताका विषयमा केन्द्रले आफैं सजाय गर्न सक्दैन । यसका लागि केन्द्रले अख्यितार दुरूपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्नुपर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्