सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रसंघको महासभामा समेत थर्काए प्रधानमन्त्रीले

प्रधानमन्त्री केपी शर्मा ओलीले आज न्यूयोर्कस्थित ७३ औँ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन । विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्थाबारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासको सह्राना गर्दै त्यसमा आफ्नो सरकारको समर्थन रहेको बताएका थिए । आफु नेतृत्वको वर्तमान सरकार संघदेखि केन्द्रसम्म पूर्ण दुईतिहाइ बहुमत प्राप्त सरकार भएकाले समृद्धि र सुशासनका लागि प्रयासरत रहेको पनि बताएका थिए ।

विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको उल्लेख गरेका छन ।

अन्तरराष्ट्रिय मुद्दाहरुमा नेपालले आफ्नो स्वतन्त्र धारणा राख्ने गरेको प्रधानमन्त्री ओलीले बताएका छन । ‘हाम्रो परराष्ट्रनीतिले हामीलाई सबैसँग मित्रता कायम गर्न र कसैसँग पनि वैरभाव नराख्न निर्देशित गर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यही सिद्धान्तअनुसार हामीले अन्तराष्ट्रिय मुद्दाहरूमा आफ्नो स्वतन्त्र धारणा राख्ने गरेका छौँ ।’

वातावरणीय परिवर्तनको विषयमा जोड दिँदै प्रधानमन्त्री ओलीले आफ्नो देश लगायत हिमाली र आइल्याण्डहरु रहेका देशहरु वातावरणीय परिवर्तनको असरबाट निकै प्रभावित रहेकोले यस विषयमा सबै राष्ट्रसंघमा आवद्ध देशहरुले समान धारणा बनाउँदै त्यसबाट बच्न जरुरी रहेको बताएका छन ।

पश्चिमाहरुले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पक्षमा कुरा उठाउने र नेपाललाई दबाव दिने गरिरहेका बेला २६ मिनेट लामो मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले मानवताका आधारमा नेपालले शरणार्थीहरुलाई शरण दिइरहेको बताएका छन ।

उनीहरुलाई सम्मानका साथ घर फर्काउने पहल गर्न अन्तरराष्ट्रिय समुदायसँग प्रधानमन्त्रीले आग्रहसमेत गरेका छन । आफ्नो सम्वोधनमा प्रधानमन्त्री ओलीले भने–‘नेपालले मानवताका आधारमा हजारौँ शरणार्थीहरूलाई शरण दिएको छ । अन्तरराष्ट्रिय समुदायले उनीहरूको सम्मानका साथ घर जान पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्