सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बलत्कारीलाई फाँसी दिने पक्षमा गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन ।

मन्त्री थापाले भनेका छन–‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ । मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन बनाउने सोचमा म छु ।’

विद्यमान कानुनमा फाँसीको व्यवस्था छैन । गृहमन्त्रीले कठोर सजाय (फाँसी) का लागि कानुन संशोधन गर्न सम्बद्ध पक्षसँग छलफल अघि बढाउने प्रतिबद्धता जनाए । सत्तारूढ नेकपाका प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रबार मन्त्री थापाले आफू कानुन फेर्न समेत तयार रहेको सुनाएका हुन ।

प्रतिनिधिमण्डलका एक सदस्यले गृहमन्त्रीको भनाई उद्धृत गर्दै भने–‘विद्यमान संविधान, ऐन र कानुन क्रुर अपराधीलाई पर्याप्त नभएको मलाई महसुस भएको छ ।’ गृहमन्त्रीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा ठोस कदम चाल्न नसकेको पनि स्वीकार गरेका छन ।

प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले भनेका छन–‘निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी घटनालाई निकास दिन नसक्दा मेरो शिर निहुँरिएको छ ।’ शाक्य नेतृत्वको टोलीले निर्मला बलत्कार–हत्या र त्यसपछिका दर्जनांै घटनामा सरकार मुकदर्शक भएको भन्दै आलोचना गरेको थियो ।

उनीहरूले अपराधीलाई समयमै दण्डित गर्न नसक्दा मुलुकभरि दर्जनौं बलात्कार र हत्याका घटना दोहोरिएको भन्दै यथाशीघ्र अपराधीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन ।

‘छ महिनाकी नाबालिकादेखि ७५ वर्षसम्मका हजुरआमामाथि भएका बलत्कार एवं हत्याको रहस्य के हो ?’ टोलीले गरेको प्रश्न सुनाउँदै शाक्यले भनिन, ‘दुईतिहाइको कम्युनिस्ट सरकारले नै केही गर्न सक्दैन भने अरुबाट के आशा र विश्वास गर्ने ? ’

उनीहरूको विचार सुनेपछि गृहमन्त्री थापाले भने, ‘तपाईंहरूको कुरा मार्मिक छ, यसले मलाई पनि गम्भीर बनायो । कानुनै फेर्न परे पनि म तयार छु । विद्यमान कानून क्रुर अपराधिलाई पर्याप्त छैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्