सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकारले निर्मलाका हत्यारा लुकायोः निर्मलाका बाबु

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि निर्मलाका बाबु यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले ‘आँखामा छारो हालेको’ गुनासो गरेका छन ।

मृतक निर्मलाका बुवा यज्ञराजले भने–‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर टेष्ट गर्नुपर्ने मैले काठमाडौमा मन्त्रीलाई नै भनेको हुँ । तर, मेरो कुरा सुनिएन । आखिर मैले जे सोचेको थियो रिपोर्ट त्यही आयो । अब त सरकारले न्याय देला भन्ने लाग्नै छोड्यो ।’

यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले जेजति गरेको देखाएपनि त्यो सबै आँखामा छारो हाल्न मात्र गरेको बताएका छन । उनले भने–‘हामीले घटनाको सुरुवात कहाँबाट भएको र को–को मानिस जोडिएका छन भनेर पहिलेदेखि नै भनेका हौँ । तर हामीलाई आशंका लागेका व्यक्तिहरुमाथि गहिरो अनुसन्धान नै गरिएन ।’

उनले बम दिदीबहिनीप्रति संकेत गर्दै भने–‘प्रमाणहरु नष्ट गरिएको छ । निर्मलाका लुगा अँझै भेटिएका छैनन, पोष्टमार्टम गर्ने डाक्टरहरुलाई नै खेदिएको छ । यस्तो सरकारले कसरी तथ्य सार्वजनिक गर्छ र हामीले न्याय पाउछौ ?’

बम दिदी बहिनीको घरमा अँझै खानतलासी नगरिएको भन्दै उनीहरुलाई पनि अनुसन्धानका नाममा बोलाएर त्यसै छाडिएको यज्ञराजले गुनासो गरेका छन । बम दिदी बहिनीलाई छाड्ने र एसपी विष्टसहितको डिएनए परीक्षण गर्न ढिला गर्नुलाई आफुले न्याय मार्न गरिएको षड्यन्त्रका रुपमा बुझेको निर्मलाका बाबु यज्ञराजले दावी गरेका छन ।

अहिलेसम्म सञ्चारमाध्यमले आफूलाई ठूलो सहयोग गरेको भन्दै पन्तले अझैपनि सहयोग गरिदिन र आफूलाई न्याय दिलाउन आग्रह गरेका छन ।

यज्ञराजले अगाडी भनेका छन–‘सञ्चारमाध्यमकै साथ पाएर हामी यहासम्म आएका छौँ, अझैपनि तपाईँहरुको सहयोग पाए केही हुन्छ की भन्ने छ । सरकारले त न्याय देला भन्ने अब टुटिसक्यो ।’

निर्मला पन्त त एक उदाहरणमात्रै हुन । त्यस घटनापछि पनि धेरै निर्मलाहरुको बलात्कार भइरहेको भन्दै उनले त्यस्ता अपराधीहरुलाई सरकारले कानुनी कठघरामा नल्याएकोमा चिन्ता व्यक्त गरेका छन । उनले भने–‘म पनि नेपाली नै हुँ, तर मलाई नेपाली नभएर अरु नै देशको जस्तो व्यवहार सरकारले गरेको मैले महशुस गरेको छु ।’

उनले भने–‘मेरी छोरीको आज यो हालत भयो, अपराधीलाई सरकारले नै लुकायो । त्यो अपराधीले अव अरु कति निर्मलालाई बलात्कार गर्छ यो ठुलो चिन्ताको विषय हो ।’ यज्ञराजले निर्मलाका बास्तविक हत्यारा र बलात्कारी पहिचान नभएसम्म राज्यसँग लडिरहने पनि बताएका छन ।

निर्मला पन्तको बलात्कार–हत्या छानविनका लागी गठित सह–सचिव हरि मैनाली नेतृवत्को समितिको सुझावपछि गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर शुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गर्न निर्देशन दिएका थिए ।

आशंका गरिएका तीनै जनाको नमुना संकलन गरेर त्रिवि शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका प्राविधिकहरुले संयुक्त रुपमा डिएनए परीक्षण गरेका थिए ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने–‘एसपी विष्ट सहित तीनै जनाको डिएनए रिपोर्ट मेल खाएन । काठमाडौंबाट पठाइएको शिलबन्दी रिपोर्ट हामीले खोलेर हेर्दा डिएनए रिपोर्ट नमिलेको देखियो ।’

निर्मला पन्तको गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । ११ गते उनको शव उखुबारीमा भेटिएको थियो । तीन जनाको डीएनए रिपोर्ट नेगेटिभ आएसँगै कञ्चनपुर घटना थप रहस्यमय बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्