साथीको लास हृयुमपाइपमा लुकाएर बाबुसँग फिरौती
विराटनगर–१७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल मियाका छोरा मोहम्मद अस्फाकलाई अपहरण गर्न साथी मोहम्मद आरिफ आलमसँग योजना बनाए ।
गौतमबुद्ध स्कुलमा कक्षा १० मा अध्ययनरत अस्फाक, हुसेन र आलम साथी साथी हुन । गत वैशाख १ गते उनीहरुले विराटनगर–१५ दुई नम्बर ढाट नजिकै सँगै बसेर मदिरा सेवन गरे । मदिरा सेवनपछि गत भदौ ३० गते नै अपहरण गर्ने योजना बनाएका आलम र हुसेनले अस्फाकलाई लिएर विराटनगर–१४ र १७ को सिममा पर्ने भित्री सडकमा पुगे ।
रातको समय थियो । मदिरा सेवन गरेका उनीहरुले अस्फाकको टाउकोमा ढुंगा प्रहार गरे । उनी सोही स्थानमा ढले । अस्फाकलाई बन्धक बनाएर खलिलसँग फिरौती माग्ने योजना थियो । तर ढुंगा प्रहार गर्दा ढलेका अस्फाक उठेनन । उनको घटनास्थलमै मृत्यु भयो ।
विराटनगरमा केही दिनअघि हृयुमपाइप भित्र शव भेटिएको घटनामा अनुसन्धान गर्दा प्रहरीले हत्यामा संलग्नको आशंकामा दुई जना पक्राउ गरेको छ । उनीहरुसँग गरिएको बयानको आधारमा प्रहरीले वैदेशिक रोजगारीमा जान खर्च जुटाउने उद्देश्यले साथीको हत्या भएको निश्कर्ष निकालेको छ ।
अस्फाकको मत्यु भएपछि त्यत्तिकै छाडेर गएका उनीहरुले बिहान ३ बजे आएर शव हृयुम पाइपभित्र हालिदिए र सुरु भयो बुबासँग पैसाको बार्गेनिङ । आफूहरुले छोरोका अपहरण गरेको भन्दै उनीहरुले असोज २ गतेबाट ५० लाख फिरौती माग्न सुरु गरे । समय बितेसँगै फिरौती रकम घट्दै थियो ।
अन्त्यमा उनीहरु ५ लाखमा छोरालाई छाड्न सहमत भए । तर बार्गेनिङ चलिरहेकै अवस्थामा गत ७ गते हृयुम पाइपभित्र सडेको अवस्थामा शव फेला पर्यो । जीउ र टाउको छुटिएको अवस्थामा भेटिएको शव चिन्न सक्ने अवस्थामा थिएन ।
अपहरणमा परेका व्यक्ति र भेटिएको शव एकै व्यक्तिको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गर्यो । एकसाताको अनुसन्धान पछि प्रहरीले असोज १ गते अपहरणमा परेका अस्फाककै शव भएको निश्कर्षमा पुग्यो । तर उक्त शव छोराकै हो भन्ने खलिललाई विश्वास भएन । तर मृतकले लगाएको लुगा, औठी र हातमा बाधेको डोरोका आधारमा खलिलले आफ्नै छोरा भएको सनाखत गरे ।
मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले भने–‘अपहरण गरेर लगेपछि हत्या भएको देखिन्छ । हत्या भैसकेपछि फिरौती माग गरेका छन ।’ पिरौती माग गरेको एसएमएस पठाउने नम्बरको मोवाइल लोकेसनका आधारमा अनुसन्धान गर्दै जाँदा दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्