मलेसिया जान नेपाली कामदारलाई एक रुपैयाँ नलाग्ने
अब बैदेशिक रोजगारीका लागी मलेसिया जाने नेपाली कामदारलाई कुनै शुल्क नलाग्ने भएको छ । नेपाल सरकारको प्रस्तावअनुसार कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएपछी नेपाली कामदारलाई मलेसिया जान सहज बन्ने भएको हो ।
दुई देशबीच हुने भनिएको बहुप्रतीक्षित आपसी समझदारी (एमओयू)को मस्यौदामा सहमति जुटिसकेको छ । दुवै पक्षबीच विभिन्न चरणमा आदान–प्रदान तथा संशोधन भएको मस्यौदामा शुक्रबार मलेसियाको पुत्राजयामा सहमति भएको थियो ।
श्रमिकको छनोट प्रक्रियादेखि मलेसिया पुग्दासम्मको लागत र श्रमिकको सेवा–सुविधाको विषयमा छलफल केन्द्रित भएको मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन । सम्झौताको मस्यौदामा सरकारले खारेजीको घोषणा गरेका अवैध संस्थाका विषयमा भने कुनै कुरा उल्लेख छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदार भर्ना प्रक्रियामा लाग्ने समग्र खर्च र म्यानपावरले लिने सेवाशुल्कसमेत रोजगारदाताले नै व्यहोर्नुपर्ने अडान निरन्तर राख्दै आएका छन । अब हुने समझदारी ‘फ्री भिसा, फ्री टिकट’ नीतिजस्तो अलपत्र अवस्थामा नपुग्ने उनको भनाइ छ ।
नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियासँग हालसम्म कुनै पनि किसिमको समझदारी तथा सम्झौता हुन सकेको थिएन । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष पुगे पनि यो पहिलो लिखित सम्झौता हुनेछ ।
मलेसियाका मानव संसाधनमन्त्री एमकुला सेगरन एमओयूमा हस्ताक्षर गर्न नेपाल आउने तयारीमा छन । गत साउनमै उनले नेपाली कामदारको समस्या समाधानको चरणमा पुगेको भन्दै नेपाल आउने जनाउ दिएका थिए । कूटनीतिक माध्यमबाट नेपाल भ्रमणको समय मिलाइने कार्यबाहक राजदूत खरेलले बताएका छन ।
सकेसम्म दसैँअघि, नभए दसैँ–तिहारको बीचमा सेगरन नेपाल आउने सम्भावना रहेका खरेलले बताएका छन् । श्रममन्त्री विष्टले जेठ ४ मा मलेसिया जाने कामदारबाट अनधिकृत रूपमा रकम असुल्ने सबै किसिमका संघसंस्था खारेज गर्ने घोषणा गरेका थिए । सम्झौतामा हस्ताक्षर भएसँगै नयाँ व्यवस्थाअनुसार कामदार मलेसिया जान सक्ने बताइएको छ ।
ठग्दै आएका दलाल सरकारी प्रतिनिधिको पछिपछी मलेसियामा
मलेसिया सरकारसँग एमओयूमा सहमति जुटाउन बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखा प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली मलेसिया प्रस्थान गरेको थियो ।
लामो समयदेखि मलेसिया जाने कामदारबाट ठूलो रकम ठग्दै आएका कम्पनी सञ्चालकहरूले सरकारी टोली जाने सुइँको पाएपछि उनीहरू पनि गएका छन । राहदानी संकलन र भिसा प्रोसेसिङका नाममा कामदार ठगी गर्दै आएको भिएलएन तथा ओएससीका सञ्चालक राम श्रेष्ठ, स्वास्थ्य परीक्षण र बायोमेट्रिकका नाममा खडा गरिएको सिन्डिकेटका नाइके कैलाश खड्का, जीवन केसी, प्रवीण तिवारी लगायत हाल मलेसियामै रहेको स्रोतले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्