सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नयाँ कानुन आएपछी डिभोर्स गर्ने पुरुषको बृद्धी

नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध बिच्छेद गर्ने पुरुषको संख्या देशभर बृद्धि भएको छ । मोरङ जिल्लामा भदौमा मात्रै जिल्ला अदालतमा ३२ जना पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन । भदौ १ गते देखी मुलुकी देवानी कार्यविधि (संहिता), २०७४ कार्यान्वयनमा आएको हो ।

३० दिनभित्रै यति धेरै पुरुष छोडपत्रको चाहनासहित अदालत पुगेको पहिलोपटक हो । यो संहिताअघि बर्षमा एक/दुईले मात्र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको स्रेस्तेदार (उपसचिव) ईश्वरमणि ओझाले बताएका छन । स्रेस्तेदार ओझाले भने–‘अहिले त दिनकै एक/दुई पुरुष आइरहेका छन । यो अँझै बढ्ने सम्भावना छ ।’

उक्त अदालतमा आव ०७४/७५ को साउनदेखि असारसम्म ८ सय ७६ सम्बन्धविच्छेदका मुद्दामा ७ सय १३ वटामा फैसला भइसकेको छ । १ सय ६३ मुद्दा भने फैसलाको पर्खाइमा छन । अघिल्ला आवमा समेत लगभग यही अनुपातमा मुद्दा दर्ता भएको र फैसला भएको ओझाले जनाएका छन ।

ओझाका अनुसार जवानदेखि वृद्धसम्मले छोडपत्रका लागि अदालत आउने गरेका छन । पुरानो मुलुकी ऐनले महिलालाई मात्र सोझै अदालतमा यस्तो मुद्दा हाल्न पाउने अधिकार दिएको थियो । त्यसैले पुरुष निकै कममात्र आउँथे ।

यसअघिको ऐन अनुरूप पुरुषले भने अदालतसम्म न्यायका लागि पुग्न गाउँपालिका र नगरपालिका धाउनुपथ्र्यो । नयाँ ऐनले भने पुरुषलाई पनि सोझै अदालत गुहार्न सक्ने अधिकार दिएको छ ।

ओझाले भने–‘यसअघि लामो प्रक्रिया र झन्झटका कारण स्थानीय निकायमै समस्या समाधान प्रयास खोजिन्थ्यो । अब कानुनले दुवैका लागि बराबरी अधिकार दिएको छ । आफूले पनि भदौमा दुई पुरुषको तर्फबाट मुद्दा दर्ता गराएको वरिष्ठ अधिवक्ता मोहन कोइरालाले बताए ।

उनले भने–‘निसन्देह पुरुषको प्रभुत्व भएको नेपाली समाजमा पत्नी बढी पीडित छन तर पीडित पतिको संख्या पनि कम छैन । जिल्ला अदालत मोरङमा भदौमा ४६ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।

नयाँ कानुन आउनुअघि साउनमा कुल ९१ यस्ता मुद्दा महिलाले दर्ता गराएको अदालतको रेकर्डमा छ । यो अदालतमा महिला र पुरुषले छोडपत्रका लागि उल्लेख गर्ने कारणचाहिँ निकै फरक छ ।

कुटपिट गरेको, खान, लाउन नदिएको र घरबाट निकालेका आधारमा महिलाले सम्बन्धविच्छेद चाहेको अदालती मिसिलमा देखिन्छ । अंश लिइसकेका श्रीमतीबाट स्वतन्त्र हुन वा पत्नीले घरमा बस्न नदिएको भन्दै धेरैजसो पुरुषले सम्बन्धविच्छेदका लागी अदालत गुहारेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्