सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

परपुरुषसँगको अनैतिक सम्बन्ध लुकाउन जेठानीको हत्या

धनुषाको हंशपुर नगरपालिका वडा नम्बर ८ झटियाहीस्थित रामनगरा टोलकी एक गर्भवती महिलाको यही असोज ३ गते रहस्यमय ढंगले मृत्यु भयो । स्थानीय नथुनी मण्डलकी श्रीमती सञ्जु मण्डलको मृत्यु सर्पले टोकेका कारण भएको भनेर शुरूमा हल्ला चलाइएको थियो ।

पेटमा ८ महिनाको गर्भ रहेकी सञ्जुलाई सर्पले उडीउडी टोकेको भनिएको थियो । मृत्युपश्चात सञ्जुको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगियो । पोस्टमार्टम गर्दा सर्पले टोकेको देखिएन । रिपोर्टमा घाँटी थिचेर हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो ।

घटनाको अनुसन्धानका लागि धनुषा प्रहरीले सञ्जुकी देउरानी बिका मण्डल र लालबाबु मण्डललाई पक्राउ गर्यो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले हत्यामा उनीहरूकै संलग्नता रहेको भेटेको छ ।

आफूहरूको अनैतिक सम्बन्धको पोल खुल्ने डरले दुवै मिलेर सञ्जुको घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र शाहीले बताएका छन । बाँकी कुरा थप अनुसन्धानपछि नै भन्न सकिने उनको भनाइ छ ।

 

परिवारको खुशिका लागी विदेश गएका दाजुभाइकै परिवार ध्वस्त
करीब ६ वर्षअघि नथुनीको सञ्जुसँग र भाइ रमेशको ४ वर्षअघि बिकासँग विवाह भएको थियो । नथुनीको ४ वर्षको एउटा छोरा छ भने रमेशको छोरा १५ महिनाको पुग्यो । बिहेलगत्तै दुवै दाजुभाइ रोजगारीका लागि विदेशिए ।

नथुनी कतार र रमेश दुबईमा छन । शुरूमा परिवार सगोलमै थियो । करीब एक वर्षअघि उनीहरूको भान्सा अलग भयो । आमाबुवा रमेशसँग बस्न थाले । घटना भएको राति सञ्जु आफ्ना पति नथुनीसँग मोबाइलमा कुराकानी गर्दै थिइन । एक्कासि सम्पर्कबिच्छेद भयो ।

नथुनिले भने–‘कुराकानी भइरहँदा अचानक काटियो । शुरूमा त निदाएको होलिन जस्तो लाग्यो । विगतमा पनि कुरा हुँदाहुँदै निदाउँथिन । प्रयास गरिरहेँ, सम्पर्क हुन सकेन ।’ भोलिपल्ट बिहानै नथुनीले आफ्नी श्रीमतीको मृत्युको खबर पाए । सर्पले टोकेर मृत्यु भएको भनिएको थियो । तर उनलाई विश्वास लागेन । छाँगाबाट खसे जस्तो भए ।

श्रीमतीको मृत्यु नभएर हत्या भएको हुनसक्ने आशंका गर्नुमा एउटा कारण थियो । सञ्जुले आफूलाई स्थानीय लालबाबु मण्डलले हत्या गर्ने धम्की दिएको कुरा फोनमा पहिले नै भनिसकेकी थिइन । लालबाबु पनि विवाहित नै थिए, तर उनको सन्तान भएको थिएन ।

‘मेरो घर किन आउँछस्, तेरो बिहे भइसकेको छ, मेरो देउरानीसँग किन हिमचिम बढाउँछस् भनेर हप्काउँदा तेरो हत्या कुनै दिन मेरै हातबाट हुन्छ भनेर धम्की समेत दिएको कुरा सञ्जुले मलाई फोनमा पहिले पनि भनिसकेका कारण सञ्जुको हत्या नै भएको हुनसक्ने आशंका गरेको थिएँ ।’–नथुनीले भने ।

घटनापश्चात दाजुभाइ नै स्वदेश फर्किए । रमेशले श्रीमती बिकालाई भाउजूको मृत्युको कारण सोधे । तर उनले आफूलाई केही थाहा नभएको बताइन । आमाबुवा दुवैजना सो दिन घरमा थिएनन । बुवा अर्को घरमा सुतेका थिए भने आमा माइत गएकी थिइन ।

घटनाबारे बताउन सक्ने बिका नै थिइन । तर उनले केही भनिरहेकी थिइनन । त्यसै क्रममा रमेशले तेजपत्ताको बोरामा लुकाइराखेको एउटा मोबाइल भेटे । सोही मोबाइलबाट बिकाले लालबाबुसँग कुराकानी गर्ने रहिछन । बिका र लालबाबुबीचको कुराकानीको अडियो पनि भेटियो ।

त्यति रहस्य खुल्नेबित्तिकै बिका बच्चालाई कुरकुरे किन्न भन्दै घरबाट बाहिरिइन । उनी तत्काल नफर्किएपछि शंका भयो । उनीहरूले प्रहरीलाई खबर गरे । रमेश आफ्ना केही साथी लिएर श्रीमतीलाई खोज्न हिँडे । बिका बाटोमा भेटिइन, फर्काएर ल्याए । त्यसपछि केरकार गर्दा बिकाले लालबाबुसँग मिलेर सञ्जुको हत्या गरेको स्वीकारिन ।

बिकाका श्रीमान रमेशले भने–‘प्रहरीले पक्राउ गरेपछि मात्र मेरो श्रीमतीले हत्या गरेको कुरा मलाई पनि बतायो । लालबाबुसँग अनैतिक सम्बन्ध रहने गरेको कारण पोल खुल्ने डरले योजना बनाएर नै हत्या गरेको उनले मलाई पनि बताएकी छिन ।’ घटनामा स्थानीय अजकुमार मण्डल र राजुकुमार मण्डलले समेत साथ दिएको बयान बिकाले दिएकी छन ।

परिवारकै सुख र खुशीका लागि बिदेसिएका यी दाजुभाइको घर भताभुङ्ग भएको छ । ‘मैले आफ्नी श्रीमतीलाई धेरै माया गर्ने गर्थें । बच्चा पाल्न कुनै समस्या नहोस भन्ने सोचेर आएपिच्छे ५० हजारसम्म उनको हातमा दिएर जाने गर्थें । यति गर्दा पनि परपुरुषसँग अवैध सम्बन्ध बनाइन र पोल खुल्ने डरले भाउजूको हत्या नै गरिन’–निराश हुँदै रमेशले भने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS