सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कतार जानेलाई सुविधा, सबै काम अब नेपालबाटै

कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करार पत्रमा हस्ताक्षर अब काठमाडौंमै हुने भएको छ । कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो ।

यो व्यवस्थापछि नेपाली कामदारको करारपत्र अब उता पुगेर परिवर्तन हुने समस्या हट्नेछ । रोजगारदातासँगको सक्कली करारपत्र काठमाडौंमा पाउने व्यवस्थाको तयारी भइरहेको हो ।

कतारले आँउदो नोभेम्बरदेखि नै काठमाडौंमा भिसा सेन्टर खोल्दैछ । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार यसका लागि दैनिक ३ सय कामदारलाई सेवा दिन मिल्ने गरी महाराजगञ्जमा घरसमेत लिइसकेको छ ।

संयन्त्र स्थापनाले सरकारले ६ बर्षअघि लागु गरेको न्युनतम तलव रोजगारदाता कम्पनी कार्यान्वयन गर्न बाध्यकारी हुनेछन । सन २०१३ मा नेपाल सरकारले तोकेको १२ सय रियाल दिन सबै रोजगारदातालाई बाध्यकारी थिएन ।

नेपालमा कामदारसँग एउटा करारपत्रमा हस्ताक्षर गर्ने तर कतार पुगेपछि अर्को थमाउने प्रवृत्ति अन्त्य हुने पनि राजदुत कोइरालाले बताएका छन । भिसा सेन्टरभित्र स्वास्थ्य परीक्षण र बायोमेट्रिक प्रणालीको फिंगरप्रिन्ट समेत काठमाडौंमै हुनेछ ।

राजदुत कोईरालाले भने–‘सक्कली करारपत्रमा हस्ताक्षर र सबै परीक्षण भएपछि कामदार काठमाडौंबाटै आवासीय कार्ड लिएर कतार उड्नेछन, अहिलेजस्तो आवासीय भिसा लिएर होइन ।’

सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा कतारको स्वास्थ्य आयोगका निर्देशक इव्राहिम अल सहारले कामदारलाई बाधा पुर्याउने एचआईभी र एड्स, हेपाटाइटिस र केही जीर्ण रोगको परीक्षण हुने बताएका छन ।

सबै परीक्षणको खर्च कामदारले बेहोर्नु नपर्ने राजदूत कोइरालाले बताए । हाल भने यो प्रक्रियाका लागि रोजगारदाताले शुल्क ब्यहोर्दै आएका छन । स्वास्थ्य परीक्षण, फिंगरप्रिन्ट र आइडीका लागि रोजगारदाताले १४ सय रियाल (४२ हजार रुपैयाँ) कतार सरकारलाई बुझाउँदै आएका छन ।

श्रम मन्त्रालयका अधिकारीले कामदारसँग कुनै पनि शुल्क नलिने गरी कतारले सम्झौता गरेपछि मात्र यो सेन्टर संचालन अनुमति दिने बताएका छन । ती अधिकारीले भने–‘हामीसँग मौखिक रुपमा धेरैपटक छलफल भएको छ, लिखित नै हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS