भारतले श्रीलंकाली राष्ट्रपतिको हत्या गर्न खोजेको दावी
श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरीसेनाले भारतीय खुफिया एजेन्सी ‘रअ’ ले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिरहेको दावी गरेका छन् । श्रीलंकाली राजनीतिमा उनी भारत समर्थक राजनितिज्ञका रुपमा चिनिने गर्छन ।
रअले आफ्नो हत्या योजना बनाएको आशंका सिरीसेनाले मंगलबारको क्याविनेट बैठकमा व्यक्त गरेको ‘द हिन्दू’ को एक समाचारमा उल्लेख छ । रअकै सहयोगमा चुनाव जितेको आरोप लागेका सिरिसेनाको यो बयानले भारतसँग उनको सम्वन्धमा तिक्तता आएको संकेत गरेको छ ।
स्रोतलाई उद्दत गर्दै समाचारमा भनिएअनुसार सिरीसेनाले मन्त्रिपरिषद् बैठकमा भनेका थिए–‘सम्भवत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रअको योजनासँग जानकारी छैनन् ।’
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको भारत भ्रमणको पूर्वसन्ध्यामा सिरिसेनाको दाबी सार्वजनिक भएको छ । रनिलले केही दिनपछि गर्ने भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर भारतीय सहयोगका परियोजनाका साथै द्वीपक्षीय हितबारे छलफल गर्नेछन् ।
श्रीलंकाली नेतृत्वले रअमाथि प्रश्न उठाएको यो पहिलो पटक होइन । सन् २०१५ मा चुनाव हारेपछि तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले आफ्नो सत्ता हटाउन रअले भूमिका खेलेको आरोप लगाएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्