सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पत्रकार खशोग्गीको हत्या दुतावासमै भएको खुलासा

साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको अक्टोबर २ मा इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको स्वीकार गरेको छ । खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्युको घटना निम्त्याएको साउदी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

अक्टोबर २ मा साउदी वाणिज्य दूतावास गएदेखि पत्रकार खशोग्गी बेपत्ता भएका थिए । खशोग्गीको मृत्यु भएको पुष्टि भएसँगै एकजना उच्च गुप्तचर अधिकारी अहमद अल असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल कतानीलाई बर्खास्त गरिएको छ ।

त्यस्तै १८ जनालाई गिरफ्तार गरिएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । साउदी राजा सलमानले टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनसँग घटनाबारे टेलिफोन वार्ता गरेपछि साउदी सरकारी सञ्चारमाध्यममा खशोग्गीको मृत्युबारे समाचार आएको हो ।

राजा सलमानले देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि सुझाव दिन भन्दै राजकुमार मोहम्मद बिन सलमानको संयोजकत्वमा एउटा मन्त्रालयस्तरीय समिति गठन गर्न आदेश समेत दिएका छन् ।

यसअघि खशोग्गी वाणिज्य दूतावासभित्रै मारिएको भन्ने टर्कीको दावी रियादले अस्वीकार गर्दै आएको थियो । पत्रकार बेपत्ता प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन रियादले आफ्ना निकट साझेदार मुलुकबाटै चर्को दबाब झेल्दै आएको थियो ।

ब्रिटेन, फ्रान्ससहित कतिपय मुलुकले रियादमा हुने एउटा लगानी सम्मेलन सोही प्रकरणलाई लिएर बहिष्कार गर्ने बताइसकेका छन् । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खशोग्गीको हत्या साउदी अरेबियाले गराएको पुष्टि भए उसलाई ‘दण्डित गर्ने’ बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्