सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कतारबाट सुन तस्कर गर्ने नयाँ जुक्तिको पर्दाफाँस

हाल काठमाडौंमा बस्दै आएका एकजना लोक गायकका आफन्त कतारमा रोजगारी गर्छन । उनले दशैंका बेला काठमाडौंमा अलिकति सुन पठाए । उनले ५/५ तोलाका बाला बनाएर विभिन्न व्यक्तिलाई लगाइदिएर काठमाडौंमा आफन्तसमक्ष पुर्याइदिन आग्रह गरे ।

एकै दिन ४/५ जनाले ल्याएको सुन लोक गायककी श्रीमतीले राजधानीका विभिन्न ठाउँमा पुगेर लिईन । सूत्रहरुका अनुसार कतारबाट त्यसरी ५ तोला अर्थात करिब ५० ग्रामसम्म सुन ल्याएर बेच्दा १५ हजार रुपैयाँ फाइदा हुन्छ । एकैदिन ५ जनाबाट बोकाएर २५ तोला ल्याइयो भने ७५ हजार रुपैयाँसम्म नाफा बस्छ ।

कतारमा रोजगारी गर्न गएका नेपालीहरुका लागि ५ तोलासम्म सुन ल्याउने छुट सरकारले दिएको छ । त्यहाँबाट नेपाल फर्कने कामदारले चुरा वा माला बनाएर वा नबनाई ५ तोलासम्म सुन निर्वाध रुपमा ल्याउन पाउँछन ।

सरकारले दिएको यही सहुलियतलाई दुरुपयोग गर्दै कतिपयले कतारबाट नेपाल आउने युवाहरुलाई सुन पठाउने गरेका छन् । ‘घरपरिवार र आफन्तका लागि’ भन्दै विभिन्न व्यक्तिलाई सुनको बाला पहिर्याएर पठाउने गरिएको स्रोतले बताएको छ ।

नेपालको विमानस्थलमा खास गरी युएईबाट सुन तस्करी हुने गरेको गोरेको गिरफ्तारीपछि पर्दाफाँस भइसकेको छ । तर, कतारको सुरक्षा व्यवस्था अलि कडा हुने गरेकाले दोहा विमानस्थलबाट अबैध तरिकाले नेपालमा सुन भित्र्याउन सम्भव नभएको कतारमा बस्ने नेपालीहरु बताउँछन ।

तथापि प्रतिव्यक्ति ५० ग्राम सुन बैधानिक बाटोबाटै ल्याउन पाउने भएकाले सुन कारोबारीहरुले ५/५ तोलाका दरले नेपाली युवालाई सित्तैमा भरिया बनाएर काठमाडौं पठाउने क्रम बढेको स्रोतको भनाइ छ ।

नेपालीहरुको प्रमुख रोजगार गन्तव्यमध्येको एक मानिने कतारमा अहिले व्यवसायिक मन्दी आएको छ । कतारले नाकाबन्दी व्यहोर्नुपरेपछि यहाँका कन्स्ट्रक्सन कम्पनीहरुमा नेपाली कामदारको माग केही घटेको छ । र, यो मन्दीसँगै त्यहाँ मेनपावर सप्लाई गर्ने नेपाली व्यवसायीहरु छटपटाउन र नयाँ कमाइको उपाय खोज्नतिर लागेका छन् ।

यसैवीच सरकारले अब कतारमा जीटुजीमार्फत कामदारहरु पठाउने तयारी गरिरहेको छ । फ्री भिसा र फ्री टिकेटको व्यवस्था पूर्णरुपमा कार्यान्वयन भयो भने म्यानपावर व्यवसायीहरु घाटामा जान सक्छन र उनीहरुले पैसा कमाउने बैकल्पिक बाटो खोज्न सक्छन् ।

कतारमा व्यवसाय गरिरहेकाहरु मात्रै होइन, रोजगारीमै संलग्न रहेका कामदारहरु पनि प्रतिव्यक्ति ५० ग्राम सुन नेपाल भित्र्याउन पाउने प्रावधानलाई प्रयोग गर्न लालायित देखिएका छन् । ५ तोला सुन बोकेर दोहा विमानस्थलबाट काठमाडौं उड्दा यहाँको प्रहरीले कुनै अवरोध गर्दैन र यसलाई सुन तस्करी मानिँदैन ।

तर, तोकिएको परिणाममा पारिवारिक उपयोगका लागि कसैले सुन बोकेर आउँदा छेकबार नलाग्ने भए तापनि विभिन्न व्यक्तिलाई बोकाएर बेच्ने हिसाबले नेपाल पठाएको सुन एकै व्यक्तिले संकलन गरेपछि काठमाडौंमा यसले कमाउ धन्दाको रुप लिने गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्