सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समुद्रमाथी चाइना पुल, जहाँ छ नेपाली श्रम (तस्विरसहित)

चीनले समुद्रमाथि संसारकै लामो पुल बनाएर दुनियाँको ध्यान तानेको छ । चिनियाँ राष्ट्रपति सी जीनफिङले मंगलबार एक भव्य समारोहका बीच हङकङ र मकाउलाई चिनको मुख्य भुमी जुहाईसँग जोड्ने उक्त पुलको उद्घाटन गरेका हुन ।

५५ किलोमिटर लामो पुल मध्ये २२.९ किलोमिटर भाग समुद्रमाथि छ भने ६.७ किलोमिटर समुद्रमुनि टनेल खनिएको छ । टनेल जोड्न दुइटा कृत्रिम टापु पनि निर्माण गरिएको छ ।

यो समुद्रमाथि बनेको संसारकै लामो र सबै पुलहरूमध्ये छैंठौं लामो पुल हो । संसारकै लामा ४ वटा पुल पनि चीनमै छन भने एउटा ताइवानमा छ । ताइवान पनि चिनकै स्वसासीत क्षेत्र हो ।

सन् २००९ मा निर्माण सुरू गरिएको यो पुल निर्धारित समयभन्दा २ वर्ष ढिला गरी यही वर्षको जनवरीमा सम्पन्न भएको थियो । यो पुल बनाउने क्रममा दश जना कामदारले ज्यान गुमाएका थिए भने ६०० जना घाइते भएका थिए । दुनियाँको ध्यान तान्ने यो पुल निर्माणमा हङकङ्गमा रहेका नेपालीले पनि पसिना बगाएका छन ।

हङकङ अन्तराष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्छ, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको छ । यस पुलबाट हरेक दिन करिब ४० हजार गाडी आवत–जावत गर्ने अनुमान छ ।

यो पुल बनाउन १२० अर्ब युआन खर्च भएको छ । यो खर्च हङकङ, मकाउ र झुझाइले बेहोर्ने छन । यस परियोजनाको कन्सेप्ट सन् २००३ मा आएको थियो, तर सन् २००९ मा निर्माण शुरु गरिएको थियो । यो पुलबाट तीनवटै शहर केबल एक घण्टामा पुग्न सकिन्छ । यसबाट आर्थिक विकासमा पनि मद्दत पुग्ने अनुमान छ ।

चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्प र कडा समुद्री आँधीलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।

यो पुल बनाउन इन्जिनियरहरुलाई समुद्रभित्र चारवटा मानवनिर्मित द्वीप बनाउनु परेको थियो । यसको माध्यमबाट पुललाई जमिनसँग जोडियो ताकि समुद्रका ठूला छाल र आँधीहरुबाट पनि पुल नडमगाओस् ।

हङकङ–झुहाई–मकाउ पुल प्राधिकरणका सहनिर्देशक यू लीका अनुसार पुल निर्माणमा करिब १४ हजार मजदुरहरुलाई खटाइएको थियो । यसबाहेक सामान ओसारपसार गर्न समुद्रमा ३०० जहाज परिचालन भइरहेका थिए ।

यो पुललाई यस्तो किसिमले बनाइएको छ कि मकाउ–हङकङ र झुझाईको यातायात बिना कुनै रोकावट चलिरहने छ । छ लेनको यो पुलमा चार वटा सुरुङसमेत बनाइएको छ ।

पुल निर्माणको क्रममा यसको एउटा हिस्सा हङकङको व्यस्त एयरपोर्ट भएको मार्गसँग पनि जोडिएको थियो । यसैलाई ध्यानमा राखेर इन्जिनियर र कामदारहरुले पुलको करिब ६ दशमलव ७ किलोमिटर लामो हिस्सामा ३०–४० मिटरभित्र गहिराइमा रहेर काम गरे ।

हङकङ र मकाउ चीनका दुई अलग स्वायत्त क्षेत्र हुन् । चीनले यस पुलमार्फत हङकङ र मकाउमा आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिएको आलोचकहरुले बताउने गरेका छन् ।

हङकङ र मकाउ दुवै सन् १९९० देखि चीनको नियन्त्रणमा छन् । यी दुवै ‘एक देश, दुई प्रणाली’को सिद्धान्तमा चल्दै आएका छन् जसले उनीहरुलाई ५० वर्षसम्म चीनबाट स्वतन्त्र रुपमा आफ्नो सरकारी तन्त्र चलाउने अनुमति छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्