महिलामाथी हुने यौनहिंसा उत्तर कोरियामा सामान्य
उत्तर कोरियाली अधिकारीहरूबाट महिलामाथि यौनशोषण हुने गरेको र त्यो प्रायः दण्डहीन रहने गरेको मानवाधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)को प्रतिवेदनले जनाएको छ ।
एचआरडब्ल्यूका अनुसार त्यस्तो शोषण व्यापक छ र सामान्य जीवनको अंशजस्तै बनिसकेको छ । देश छोडेर भागेका ६२ उत्तर कोरियालीसँग गरिएको कुराकानीमा आधारित भएर सो प्रतिवेदन बनाइएको हो ।
उनीहरूले नै बलात्कार र यौनशोषणबारे विस्तृत विवरण उपलब्ध गराएका थिए । यसबाट उत्तर कोरियामा शक्ति र पदमा भएका पुरुषबाट खुल्ला र चरम शोषण हुने गरेको स्पष्ट भएको सो समूहले जनाएको छ ।
ओ जङ्हीले सो प्रतिवेदनका लेखकहरूलाई भनेकी छन्–‘उनीहरू हामीलाई खेलौना भन्ठान्छन् । हामी पुरुषको नियन्त्रणमा हुन्छौँ ।’ चालीस वर्षमाथिकी ती महिला उत्तर कोरियामा हुँदा व्यापार गर्थिन् ।
उनले भनेकी छिन–‘कहिलेकाहीँ राति अकस्मात् रोइन्थ्यो । तर त्यसको कारण थाहा हुन्नथ्यो ।’ उत्तर कोरियाभित्र हुने गतिविधिबारे सूचना सङ्कलन गर्न गाह्रो भएकाले यस्ता प्रतिवेदन दुर्लभ मानिन्छन् ।
एचआरडब्ल्यूका अनुसार केही महिलाले यौनशोषण अति सामान्य भएको र आफूलाई त्यो ‘असामान्य’ नलागेको बताएका छन् । केहीले त यौनशोषणलाई आफ्नो दैनिक जीवनको भागकै रूपमा स्वीकारिसकेको बताएका छन् ।
यौनशिक्षाको अभाव र शक्तिको दुरुपयोग नियन्त्रण नहुने गरेकाले यौनशोषण गर्ने मनोवृत्ति बढेको सो प्रतिवेदनले जनाएको छ । पीडकहरूमा उच्चपदस्थ अधिकारी, कारागारका सुरक्षाकर्मी, प्रहरी र सैनिकहरू पनि छन् ।
कुनै सरकारी कर्मचारीले एउटी महिलालाई ‘छान्यो’ भने उनीसँग त्यो स्वीकार्नु बाहेक अन्य विकल्प नहुने गरेको महिलाहरूले एचआरडब्ल्यूलाई बताएका छन् । उत्तर कोरियाबाट भाग्न लाग्दा समातिएकी एउटी महिलाले हिरासतमा रहँदा एक प्रहरी अधिकृतबाट त्यस्तै दुर्व्यवहार खेप्नुर्पयो ।
पार्क यङ्हीले भनिन्–‘उनले मलाई आफूनजिकै बसाए … र मेरो गुप्ताङ्गतिर छोए… धेरै पटक फरकफरक दिनमा ।’ उनले अगाडी भनेकी छिन–‘मेरो जीवन उनको हातमा थियो । त्यसैले उनले गर्न चाहेको सबै कुरा मैले मानिदिएँ । त्योबाहेक म अरू के नै गर्न सक्थेँ र ?’
एचारडब्ल्यूले उत्तर कोरियालाई ‘यौनहिंसाको समस्या स्वीकार्न’ र त्यसलाई अपराध मान्न आग्रह गरेको छ । सन् २०१४ मा प्रकाशित संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदनमा उत्तर कोरियामा राज्यबाट नै मानवाधिकारको चरम उल्लंघन सङ्गठित र व्यापक रूपमा हुने गरेको उल्लेख गरेको थियो ।
(बीबीसीबाट साभार)
फेसबुकबाट कमेन्ट गर्नुहोस्