सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विराटनगर आइपुग्यो रेल, आठ कि.मि. ४५ मिनेटमा

भारतको बथनाहाबाट विराटनगरको बुद्धनगर–१८ सम्म बिछ्याइएको रेल्वे लिकको परिक्षणका लागि पहिलोपटक भारतीय रेलको इन्जिन विराटनगर आइपुगेको छ ।

भारतको रेल्वे विभागका इन्जिनियर र निर्माण कम्पनीको टोलीले रेलमार्ग निर्माणको केही समय अघि जाँच गरेसँगै आइतबार परिक्षण स्वरुप यहाँसम्म रेल गुडाइएको हो ।

भारत सरकारले मोरङको कटहरीसम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिदिने नेपाल सरकारसँग भएको सम्झौताअनुसार निर्माण कार्य गरेको थियो । भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा बथनाहादेखि कटहरीसम्म रेलमार्ग निर्माण गरेको हो ।

नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधार लगायतको काम गरिदिने गरी द्विपक्षीय सम्झौता भएको थियो । आठ किलोमिटर दूरी ४५ मिनेट लगाएर भारतीय रेल बुधनगरको कष्टम याडमा आइपुगेको हो ।

आइतबार दिउँसो पौने दुई बजे बथनाबाट गुडेको रेल कष्टम याडमा आइपुग्दा पौने ३ बजेको थियो । पहिलो चरणमा आठ किलोमिटर मात्र रेलमार्ग निर्माण भएको छ । यो रेल मोरङको कटहरी गाउँपालिकासम्म पुग्छ ।

तर कटहरी पुग्नका लागि अझै आठ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी छ । निर्माण कम्पनीले मुआब्जा लगायत विवाद समाधान भएमा अबको डेढ वर्षमै रेल कटहरी गाउँपालीका पुग्ने दाबी गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्