डोनाल्ड ट्रम्पलाई धक्का, हाउस विपक्षीको कब्जामा
अमेरिकामा मंगलबार सम्पन्न निर्वाचन मार्फत विपक्षी डेमोक्र्याटिक पार्टीले हाउस अफ रिप्रेजेन्टिटिभमा बहुमत हाँसिल गरेको छ । सिनेटमा भने ट्रम्पको रिपब्लिकन पार्टीले थप तीन सिट जित्दै आफ्नो बहुमत कायमै राखेको छ ।
पूर्ण मत परिणाम आउन बाँकी नै भए पनि हाउसमा डेमोक्र्याटिक पार्टीको बहुमत आउने पक्का भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । यो चुनावअघि ४४५ सदस्य रहेको हाउसमा रिपब्लिकन पार्टीको २३४ सिट थियो ।
डेमोक्र्याटिक पार्टीको २०१ सिट मात्र थियो । अहिलेसम्मको मतपरिणाममा डेमोक्र्याटहरुले नयाँ २४ सिट जितेका छन् । रिपब्लिकनले २४ सिट गुमाएका छन् । डेमोक्र्याटिक पार्टीले रिपब्ललिकनबाट ४० देखि ५० सिटसम्म छिन्न सक्ने देखिएको सञ्चार माध्यमले जनाएका छन् ।
यो मत परिणामले राष्ट्रपति ट्रम्पलाई धक्का पुग्नेछ । उनले अब पहिले जस्तो एकलौटी नीति, नियम तथा कानुन बनाउन पाउने छैनन् । अमेरिकामा कुनै पनि कानुन तथा बजेट अमेरिकी कंग्रेसका दुवै सदन सिनेट र हाउसबाट पारित हुनुपर्छ ।
हाउसमा बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका हात बाँधिने छन् । उनले अब डेमोक्र्याटहरुको नियन्त्रणमा रहेको हाउसलाई मनाएर मात्र कानुन तथा बजेट पारित गर्न सक्नेछन् ।
राष्ट्रपति ट्रम्पको पछिल्लो दुई वर्षे कार्यकालमाथि जनमतसंग्रह मानिएको यो चुनावमा मतदाताहरूले राष्ट्रपतिमाथि नियन्त्रण राख्नेगरी अभिमत प्रकट गरेको टिप्पणी विश्लेषकहरूले गरेका छन् ।
हाउसका सदस्यहरूको कार्यकाल जम्मा दुई वर्ष हुन्छ । सिनेटका सदस्यको कार्यकाल भने ६ वर्षको हुन्छ । तर प्रत्येक दुई वर्षमा सिनेटका एक तिहाई सदस्यको चुनाव हुन्छ ।
आउने दुई वर्षपछि अमेरिकामा राष्ट्रपति चुनाव हुनेछ । यो मतपरिणामले डेमोक्र्याटहरूलाई उत्साहित पार्नेछ भने राष्ट्रपति ट्रम्पका लागि चिन्ता थप्नेछ । यो चुनावले पनि अमेरिकामा देखिएको सहरी र ग्रामिण क्षेत्रको राजनीतिक विभाजन कायमै रहेको देखाएको छ ।
डेमोक्र्याटहरुले ठूला सहर तथा सहर वरिपरिका निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् भने रिपब्लिकनहरुले ग्रामिण क्षेत्रमा आफ्नो पकड कायमै राखेका छन् । यसपालि प्रतिस्पर्धात्मक चुनाव भएका धेरै सिनेट सिटहरु ग्रामिण क्षेत्रमा परेकाले डेमोक्र्याटहरुले राम्रो परिणाम निकाल्न नसकेको विश्लेषण गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्