सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वीरगञ्ज भन्सारबाट भित्रियो पाँच करोडको स्याउ र केरा

यातायातको असुविधा र उपयुक्त बजारको अभावमा नेपालका जुम्ला, डोल्पा र मनाङ, मुस्ताङका स्याउले उचित मुल्य नपाउँदा किसान मारमा परिरहेका बेला नेपालका मुख्य बजारमा खपत हुने स्याउ र केरा भने भारत र चीनबाट आयात हुने गरेको छ । नेपालमै उत्पादन गर्न सकिने फलफुलको आयातले करोडौँ पैसा विदेश जाने गरेको छ भने नेपाली उत्पादन खेर जाने गरेको छ ।

दशैं तिहार, छठ पर्वलाई लक्षित गरेर भारतसँग सिमा जोडिएको नेपालको मुख्य नाका वीरगञ्ज भन्सार नाका हुँदै भित्रिने फलफूलको आयातमा वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्याङक अनुसार साउनदेखि यता ४ करोड ७५ लाख मुल्य बराबरको नेपालमै उत्पादन गर्न सकिने केरा र स्याउ मात्रै भित्रिएको छ ।

देशको मुख्य भन्सार नाका हुँदै भन्सार राजश्व बुझाएर ४ करोड ७५ लाख मुल्य बराबरको स्याउ र केरा भित्रिएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवका अनुसार चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखि हालसम्म ३ करोड १० लाख मूल्य बराबरको ६ लाख ९१ हजार केजी स्याउ र १ करोड ६५ लाख मूल्य बरारबरको २१ लाख ५० हजार किलो केरा आयात भएको छ ।

२०७४/०७५ को सोही अवधिमा वीरगन्ज नाका हुँदै ४ करोड २० लाख मूल्य बराबरको स्याउ र केरा भारतबाट आयात गरिएको थियो । जसमा १ करोड ३८ लाख मूल्य बराबरको ८ लाख ११ हजार किलो केरा छ भने २ करोड ४२ लाख मुल्य बराबरको ६ लाख १३ हजार किलो स्याउ आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार फलफुल आयात वर्षेनी बढ्दै गएको छ र भन्सार कार्यालयले राम्रो राजश्व संकलन गरिरहेको छ । वीरगञ्ज भन्सार नाका हुँदै स्याउ केराका अलावा सिजन अनुसार सुन्तला, अंगुर, अनार पनि आयात हुने गरेको छ ।

वीरगन्ज नाका हुँदै भारतबाट आयात हुने केरा मध्ये हरियो र लामो आकारको केरा भारतको आसामबाट र पहेलो साना आकारको केरा हाजीपुर र मोजफरपुरबाट आयात गर्ने गरिएको छ ।

स्याउ कास्मिरबाट आयात गरिन्छ । तर वीरगन्ज लगायत यस क्षेत्रमा पछिल्लो समय भारतीय स्याउ भन्दा पनि चीनको स्याउले बजार ओगट्न थालेको व्यापारीहरु बताउँछन् । कास्मिरको स्याउले २५ प्रतिशत र चीनबाट काठमाडौं हुँदै आयात गरिएको स्याउले ७५ प्रतिशत बजार हिस्सा ओगटेको व्यापारीहरु बताउँछन् ।

वीरगञ्जका व्यापारीहरुले भने आफूहरु दोहोरो मारमा परेको बताएका छन् । एकातिर भन्सारमा बढी राजश्व तिर्नु परेको र अर्कोतिर दिनहुँ मुख्य नाका हुँदै साईकलमा फलफूल खुलेआम भित्रने गरेको उनीहरुको भनाइ छ ।

एकैपटक २०/२५ कार्टुन फलफुल साईकलमा बोकेर दैनिक सयौंको संख्यामा भारतीय व्यापारीहरु वीरगञ्जमा फलफूल बिक्रि गर्न आउने गरेको दावी उनीहरुको छ । यसले गर्दा भन्सार तिरेर फलफूल आयात गर्ने थोक विक्रेताहरु मर्कामा परेका छन् ।

लुकाई छिपाई मात्रै नभएर वीरगञ्ज भन्सार नाकामा सशस्त्र प्रहरी, प्रहरी र भन्सारका कर्मचारीलाई रकम दिएर खुलेआम साईकलमा फलफूल भित्र्याउने गरिन्छ ।

भन्सार छलेर फलफूल ल्याएपनि त्यस्ता व्यापारीले उपभोक्तालाई पनि सस्तोमा फलफूल नदिने गरेको दावी उनको छ । समस्याको बारेमा अर्थ मन्त्रालयमा पुगेर जानकारी गराएको भएपनि कुनै सुनुवाई नभएको गुनासो वीरगञ्जका फलफूल व्यापारीहरुले गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्