नेपाली मूलका एचबी ह्यारी अमेरिकी संसदमा विजयी
अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपाली मूलका हिराबहादुर भण्डारी अर्थात एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित भएका छन् । भण्डारी बाल्टिमोर काउन्टीको मेरिल्याण्ड डिष्ट्रिक्ट ८ बाट विधायकसभा (स्टेट डेलिगेटस) मा विजयी भएका हुन् ।
अमेरिकाको राजनीतिक तहमा रहेका नेपाली मूलका व्यक्तिमध्ये भण्डारी नै सबभन्दा उच्च तहमा पुगेका हुन् । तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हुँदै उनी निर्वाचित भएका हुन् । उनले २० हजारभन्दा बढी मत ल्याएका छन् ।
भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बनेका थिए । गत जुनमा उनी डेमोक्र्याटिक पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए । नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा अमेरिका गएका भण्डारी नेपालमा अंग्रेजी विषयको शिक्षक थिए । अमेरिकामा पनि प्राध्यापन पेशामै आवद्ध छन् ।
एकचालिस वर्षे भण्डारीको खास नाम हिराबहादुर भण्डारी भए पनि अमेरिका आएपछि एचबी भण्डारी हुँदै अहिले ह्यारी भण्डारी नामले चिनिन्छन् । गत जुन महिनामा सम्पन्न प्रारम्भिक चरणको चुनावमा पनि उनी दोस्रो भएर निर्वाचित भएका थिए ।
यसअघि सन् २०१४ मा अमेरिकामा पहिलोपटक उम्मेदवार बनेका भण्डारी त्यतिबेला भने पराजित भएका थिए । अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ का दिन निर्वाचन हुने गर्छ । दुई वर्ष पहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपति निर्वाचन भएको थियो ।
अहिले केन्द्रीय राज्य सभाको ४३५ सिट, केन्द्रीय सीनेटको एक सयमध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र स्टेट डेलिगेटस (विधायकसभा)का साथै स्थानीय तहको निर्वाचन भएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्