सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकाको नाइट क्लवमा गोली चल्दा १२ को मृत्यु

बिहिबार शक्तिराष्ट्र संयुक्त राज्य अमेरिकाको लस एन्जल्सस्थित एउटा रात्रि क्लबमा भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको क्यालिफोर्निया प्रहरीले जनाएको छ ।

घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राति ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो ।

राति भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ । अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ । पछिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ । आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन् ।

तर आक्रमणकारीको प्रहरी कारबाहीमा गोली लागेर मृत्यु भएको हो वा उसलाई अन्य कसैले प्रत्याक्रमण गरेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैंलाई समेत गोली हानेको हुनसक्ने बताइएको छ ।

भेन्चुरा काउन्टीका सेरिफ जिअफ डिनले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार मारिनेमा बन्दुकधारी आक्रमणकारी पनि छन् । आक्रमणकारी ती व्यक्तिको पहिचान खुलिसकेको छैन ।

प्रहरीलाई गोलीकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन नसकेको तर अनुसन्धान जारी रहेको डिनले बताएका छन् । घटनामा आतङ्ककारी समूहको संलग्नता रहेको कुनै आधार फेला परिनसकेको र यसबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले अधिकारी डिनले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्