हुम्लाका किसान स्याउ धेरै फलेर चिन्तित, बजारमा विदेशी
यसपालि बारीमा स्याउ धेरै फलेपछि हुम्लाका किसानलाई भण्डारणको चिन्ता हुन थालेको छ । स्याउ भण्डारण गर्ने नयाँ प्रविधि नभएको र परम्परागत रूपमै बोरामा प्याकिङ तथा जमिनमुनि खाल्डो खनेर राख्नुपर्ने अवस्था आउँदा स्याउ कुहिने डरले किसान चिन्तित हुन थालेका हुन् ।
स्याउ फार्ममा डेढ सय बोट स्याउ लगाएर राम्रो फलेको बताउने सिमकोट गाउँपालिका २ ठेहेका अगुवा किसान गोरासिंह बोहोराले उत्पादन भएको स्याउ बिक्रीको समस्या रहेकै अवस्थामा भण्डारण गर्न पनि कठिनाइ देखिएको हुँदा अब स्याउ कुहिने डर लाग्न थालेको बताएका छन् ।
अहिलेसम्म त स्याउ बोटमै रहेको भए पनि अब रुखबाट टिपेर थन्क्याउने बेला हुनै लागेको भए पनि भण्डारणमा समस्या देखिएको उनले बताए । गत वर्ष बोरामा राख्दा र जमिनमा खाल्डो खनेर स्याउ दबाउँदा कुहिएको सम्झँदै बोहोराले अब कसरी स्याउ भण्डारण गर्ने भन्ने चिन्ताले सताएको बताएका हुन् ।
हाल स्याउ फार्ममै प्रतिदाना पाँच रुपियाँमा स्याउ बिक्री भइरहेको र त्यसमा पनि बजारको समस्या देखिएको उनले बताए । यता सिमकोट चार हिल्दुमका जङ्गबहादुर शाहीलाई पनि स्याउ भण्डारण गर्ने चिन्ताले सताएको छ । हालसम्म तीस हजारको स्याउ बिक्री गरेका शाहीले १२ देखि १५ क्विन्टल स्याउको सुकुटी बनाए पनि स्याउ अँझै रुखमा हुँदा भण्डारण समस्या देखिएको बताए ।
भण्डारण राम्रो गर्न सके आगामी वैशाखसम्म राख्न सकिने र त्यतिसम्म बजारको समस्या टर्ने भएको कारण अब भण्डारणकै चिन्ता लाग्न थालेको उनले बताएका छन् । अझै तीसदेखि ४० बोट स्याउ बाँकी रहेको उनले बताए ।
यस वर्ष स्याउ उत्पादन पनि बढी भएकाले भण्डारमा समस्या देखिएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख बलबहादुर फडेराले बताएका छन् । अहिले दैनिक रूपमा नेपालगञ्ज र सुर्खेतका लागि ३० देखि ४० कार्टुन स्याउ बाहिरिए पनि उत्पादनअनुसार बजारको समस्या भएका कारण किसानलाई भण्डारणको समस्या देखिएको उनले बताए ।
आधुनिक रस्टिक स्टोरहरू निर्माण भई नसकेको कारण स्याउ भण्डारणमा किसानले बर्षेनी रूपमा समस्या झेल्दै आएको फडेराले बताए । यता स्याउको मुख्य खपत हुने काठमाण्डौ, पोखरा, धरान, नेपालगञ्ज लगायतका शहरहरुमा भने चिनियाँ र भारतीय स्याउको बिगबिगी रहेको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्