सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकी राष्ट्रपति ट्रम्प बिरुद्ध सिएनएनले दियो मुद्दा

सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइटहाउसका उनका उच्च सहयोगीविरुद्ध मुद्दा दायर गरेको छ । मंगलबार ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अमेरिकाको जिल्ला अदालत, वासिंटनमा सीएनएनले मुद्दा दायर गरेको हो ।

ह्वाइटहाउसस्थित राष्ट्रपति कार्यालयले सीएनएनका लागि ह्वाइट हाउस हेर्ने वरिष्ठ संवाददाता जिम एकोस्टाको परिचयपत्र अमान्य घोषित गर्दै उनको प्रवेशमा रोक लगाएसँगै सीएनएनले अदालतको ढोका ढक्ढकाएको हो ।

राष्ट्रपति ट्रम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा एकोस्टाले कडा प्रश्न गरेपछि गत बुधबार तनाव भएको थियो । ह्वाइट हाउसमा कार्यरत महिला कर्मचारीले एकोस्टाले प्रश्न गरिरहेकै बेला उनको माइक्रोफोन नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् । तर, एकोस्टाले ती महिलालाई रोके र थप प्रश्नहरु ट्रम्पमाथि बर्साएका थिए ।

यो घटनाको भिडियो भाइरल भएपछि ह्वाइटहाउसको चर्को आलोचना भए पनि उसले एकोस्टाको परिचयपत्र नै जफत गर्ने अलोकप्रिय कदम चालेको थियो । तर, सीएनएन ट्रम्प र उनको प्रशासनले आफ्ना पत्रकारको संवैधानिक अधिकार खोसेको भन्दै अदालत गएपछि घटनाले रोचक मोड लिएको छ ।

दायर मुद्दामा ट्रम्प र उनका सहयोगीलाई विपक्षी बनाइएको छ । सिएनएनको यो कदमसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झन आलोचित बन्ने निश्चित देखिएको छ । यद्यपी अन्र्तराष्ट्रिय जगतमा यही बिषयलाई लिएर डोनाल्डको ब्यापक आलोचना भईरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्