सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुम पश्चिममा चिउरीको नुहाउने साबुन उद्योग

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो ।

साबुन बनाउन आवश्यक कच्चा पदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताएका छन् । पहिलो चरणमा करीब दुई हजार साबुन उत्पादन गरिएको छ । उत्पादित साबुन बिक्रीको तयारी भइरहेको छ ।

प्रति गोटा मूल्य रु. ५० कायम गरिएको सो साबुनको नाम ‘चिउरी हर्वल साबुन’ राखिएको छ । साबुन उत्पादनका लागि स्थानीयवासी प्रेमवीर कामी, जयमती कामी, वीरबहादुर कामी, नवीना कामी र रत्ने कामीले रु. १५ लाख लगानी गरेका छन् ।

उद्योगबाट उत्पादित साबुन जिल्लाको विभिन्न बजार तथा छिमेकी जिल्ला जाजरकोट, डोल्पा र सल्यान पठाउने योजना रहेको कम्पनीका निर्देशक प्रेमवीर कामीले बताएका छन् ।

उद्योगबाट हाल नुहाउने साबुन मात्रै उत्पादन भइरहेको छ । आगामी दिनमा कपडा धुने साबुन पनि उत्पादन गर्ने लक्ष्य रहेको उनीहरुले बताएका छन् । साबुन उत्पादन गर्न चिउरीको मिजूला(गेडा) स्थानीयवासीले सङ्कलन गर्दछन् ।

उद्योग प्रवद्र्धन गर्न सहयोग गर्ने आठबीसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताएका छन् । स्थानीय स्तरमै नुहाउने साबुनको उद्योग खुलेपछी सो क्षेत्रका अन्य युवाहरुलाई पनि उद्यमशिल बन्न उत्प्रेरणा हुने स्थानियले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्