सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्व–पश्चिम राजमार्ग चार लेनको, सहरी क्षेत्र ८ लेनको

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । सो राजमार्ग विस्तार अन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको विस्तार कार्य अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मुक्ति गौतमले बताएका छन् ।

हाल दुई लेनमा सञ्चालन भइरहेको सो राजमार्गलाई ४ लेनमा र सहरी क्षेत्रमा सर्भिस लेनसहित ८ लेनमा विस्तार गर्ने योजनाअनुसार काम अघि बढाइएको उनले जानकारी दिएका छन् ।

उनले भने–‘नारायणघाट–बुटवल खण्डमा सवारीसाधनको चाप अत्यधिक भएकाले यो खण्ड सबैभन्दा पहिले सुरु गर्न लागिएको हा । यो खण्डको विस्तारका लागि कम्पनी छनोट भइसकेको छ, ठेक्का सम्झौता गर्न आउन छनोट भएको कम्पनीलाई आह्वानसमेत गरिसकिएको छ ।’

सो खण्ड विस्तारका लागि विभागले चाइना सेट कन्स्ट्रक्सन कम्पनीलाई छनोट गरिसकेको विभागको आयोजना निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले जानकारी दिए ।

‘अबको झन्डै डेढ महिनाभित्र सो खण्डको सडक विस्तार कार्यका लागि ठेक्का सम्झौता भइसक्नेछ,’ इन्जिनियर शाक्यले भने, ‘दुई महिनाभित्र काम नै सुरु हुने अपेक्षा छ ।’

त्यस्तै, विभागले यसअघि नै कमलादेखि पूर्व सप्तकोसीसम्मको खण्ड सडक विस्तारका लागि समेत बोलपत्र आह्वान गरिसकेको छ । सो सडकखण्ड अन्तर्गत दुईवटा प्याकेजमा बोलपत्रमा आह्वान गरिएको इन्जिनियर शाक्यले बताए ।

‘कमला नदीदेखि पूर्व सप्तकोसी खण्ड निर्माणका लागि आह्वान गरिएको दुईवटै बोलपत्रमा चोैध चौध वटा कम्पनीको प्रस्ताव परेको छ,’ उनले भने । विस्तार सुरु गर्न लागिएको खण्डमा सडक सुरक्षा तथा मर्मतको कामसमेत अघि बढाइने उनले बताएका छन् ।

कुल १ हजार २७ किलोमिटर लम्बाइको उक्त सडक विस्तारका लागि कोसीदेखि पूर्व काँकडभिट्टासम्म, कमलादेखि पश्चिम नारायणघाटसम्म र बुटवलदेखि पश्चिमको खण्डको अध्ययन तथा डिटेल डिजाइन लगायतका काम अगाडि बढाइएको उनले बताएका छन् । तर, यी दुई खण्डबाहेक अन्य खण्डको विस्तारका लागि लगानी भने जुट्न सकेको छैन ।

एसियाली विकास बैंक (एडिबी)ले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य (सासेक) राजमार्ग सुधार परियोजनाअन्तर्गत प्रदान गरेको १८० मिलियन अमेरिकी डलरको लगानीमा दुई खण्डको विस्तार, अध्ययन, सडक सुरक्षा र मर्मतको काम अघि बढेको हो । पूर्व–पश्चिम राजमार्ग पूरै विस्तार सक्न भने ५ देखि ७ वर्षसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्