सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आज २ अर्बको ट्रेजरी विल बोलकबोल गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको हो । मंगलबार जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि सोमबार मध्याह्न २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

मंगबार जारी भएको ट्रेजरी आगामी फागुन ७ गते परिपक्व हुनेछ । यस अघि कात्तिक २७ गते राष्ट्र बैंकले करिब ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकका अनुसार २८ दिनका लागि ३ अर्ब २५ करोड रुपैयाँको, ९१ दिनका लागि २ अर्ब ५३ करोड रुपैयाँको र १ सय ८२ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी भएको थियो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत पाइनेछ ।

सबै वर्गका बैंक वित्तका साथै संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्