सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कहिले उड्ला नेपालबाट सिधा जापान हवाइजहाज ?

नेपाल एयरलाइन्सले नेपालबाट सिधै जापानका लागी उडान भर्ने चर्चा चलेको एक बर्ष भन्दा लामै समय भईसक्यो । जापानको हानेदा बाहेक अन्य विमानस्थलमा नेपालले उडान भर्न जापानले अनुमति दिएको भनेर समाचार पनि सार्बजकि भएको थियो ।

नेपालका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली यतिबेला पाँच दिने जापान भ्रमणको सिलसिलामा छन् । जापानका परराष्ट्रमन्त्रीसँग दुई देशबिच प्रतिनिधिमण्डल स्तरीय वार्ता पनि भईसकेको छ । तर परराष्ट्रमन्त्रीले नेपालबाट जापान सिधा हवाई उडान गर्ने बिषयमा छलफल गरे गरेनन् भन्ने बिषय भने खुलाइएको छैन् ।

यतिबेला यो प्रसंग किन सान्दर्भिक छ भने, नेपाल वायुसेवा निगमले खरिद गरेको भनिएका दुईओटा वाईड बडी भएका ठुला जहाज यत्तिकै थन्किएर बसेका छन् । जसले गर्दा सरकारलाई मासिक करोडौँ घाटा भईरहेको छ । कम्तीमा मन्त्री नै जापान आएको बेला आवश्यक प्रक्रिया पुरा गरेर हवाई उडान सुरु गरे देशको व्ययभार कम हुने थियो ।

भलै विमान खरिद प्रक्रिया विवादमा आएको छ त्यो आफ्नो ठाउँमा छ । तर विवादका बिषयमा छानबिन र छलफल चल्दै गरे पनि जापानसँग सिधा हवाई उडान सुचारु गर्न पाए विमान थन्काएर घाटा व्यहोर्नु भन्दा थोरै भए पनि सरकारलाई आर्थिक राहत हुने थियो भने नेपाली नागरिक र जापानी पर्यटकलाई सुविधा हुने थियो । आशा छ मन्त्री ज्ञवालीले यसबारे जापानसँग छलफल गरेका छन् ।

जापानी परराष्ट्रमन्त्रीको निमण्त्रणामा जापानको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी जापानी परराष्ट्रमन्त्री तारो कोनोको नेतृत्वमा सोमबार भएको प्रतिनिधिमण्डल स्तरीय वार्तामा जापानी परराष्ट्रमन्त्री तारो कोनोले सहायताको आश्वासन दिएको भने नेपाली दुतावासद्वारा जारी विज्ञप्तीमा बताईएको छ ।

नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यलाई साकार पार्न जापान सरकारबाट पूर्ण सहयोग, साथ र समर्थन हुने मन्त्री कोनोले बैठकमा आश्वासन दिएको जापानस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दुतावासद्वारा जारी विज्ञप्तीमा जापानी परराष्ट्रमन्त्रीको भनाई उद्धृत गर्दै भनिएको छ–“सम्पर्क सञ्जाल तथा भौतिक पूर्वाधार निर्माण, गरिबी घटाउने, कृषि क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन तथा विपद् कम गर्नेलगायत विषयमा जापानबाट सहयोग हुनेछ ।”

बैठकमा मन्त्री ज्ञवालीले नेपालले हासिल गरेको राजनीतिक उपलब्धि तथा देशको आर्थिक विकासका निम्ति सरकारले निर्धारण गरेका प्राथमिकताबारे जानकारी दिँदै कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा, भौतिक पूर्वाधार निर्माण, पर्यटन तथा मानव संशाधन विकासजस्ता प्राथमिकताका क्षेत्रमा नेपालले जापानी सहयोगको अपेक्षा गरेको बताएका थिए ।

यसैबिच जापान सरकारले खाद्य सहायता कार्यक्रम अन्तर्गत नेपाललाई रु. ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गरेका थिए ।

दुबै देशका परराष्ट्रमन्त्रीको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि मन्त्रीद्वयको उपस्थितिमा दुवै मुलुकका राजदूतले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्न जापान सरकारले उक्त सहायता उपलब्ध गराएको हो ।

त्यसैगरी जापानको बाह्य व्यापार संघ (जेटुरो), नेपाली दुतावास लगायतका संघ संस्थाको आयोजनामा भएको नेपाल लगानी कार्यशालालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको भन्दै जापानको निजी क्षेत्रलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गरेका छन् ।

सम्बोधनमा मन्त्री ज्ञवालीले नेपाल राजनितिक संक्रमणको व्यवस्थापन गर्दै आर्थीक विकासको बाटोमा अगाडी बढेको हुँदा सन् २०३० सम्म नेपाललाई अल्पविकसीतबाट विकसीत बनाउने लक्ष्यमा साथ दिन आर्थीक लगानीका साथै प्राविधिक रुपमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

यसअघि गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले जापानको प्रविधि र सिपलाई नेपालको विकासमा प्रयोग गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका थिए । उनले नेपालबाट चाँडै जापानमा सिधै हवाई सेवा सुरु हुने पनि जानकारी गराएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्